Home > सूचना-प्रबिधि > नेपालले अर्को वर्षभित्र आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने तयारी गर्दै

नेपालले अर्को वर्षभित्र आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने तयारी गर्दै

फागुन १२, नेपालले अर्को वर्षभित्र आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट ले जापानको एक कम्पनीसँग सम्झौता गरी आफ्नै भू-उपग्रह स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो।

भू-उपग्रहसम्बन्धी अध्ययन÷अनुसन्धान गर्न नास्टले माघ ३ गते जापानको क्युटेक -क्युस इन्स्टिच्युट अफ टेक्नोलोजी सँग सम्झौता गरेको नास्टका उपकुलपति डा.जीवराज पोखरेलले जानकारी दिनुभयो ।

नास्टले यो इन्स्टिच्युटमा भू-उपग्रहसम्बन्धी अध्ययन गर्न दुई वर्षका लागि दुई जना इन्जिनियरलाई जापान पठाउने भएको छ। नास्टले इलेक्ट्रोनिक इन्जिनियर हरेराम श्रेष्ठलाई जापान पठाउन छनोट गरिसकेको छ भने अर्का एक प्राविधिकको छनोट कार्य जारी राखेको छ।

नेपालमा भू-उपग्रहबारे जानकार जनशक्ति नभएका कारण अध्ययनका लागि प्राविधिकलाई जापान पठाउन लागिएको हो। दुई जनामध्ये एक जनालाई इन्स्टिच्युटले पूर्ण छात्रवृत्ति दिने भएको छ भने अर्का एक जनाको खर्च सरकारले नै व्यहोर्नु पर्नेछ। नास्टले यसका लागि अर्थ मन्त्रालयसँग करिब १ करोड ८० लाख बजेट माग गरेको छ। तर, अर्थले भने बजेट उपलब्ध गराउने स्वीकृति जनाए पनि अझै उपलब्ध भने भइनसकेको उपकुलपति पोखरेलले बताउनुभयो ।
विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव सुरेन्द्र सुवेदीले बजेटका लागि अर्थसँग छलफल भइरहेको पोखरेलले बताउनुभयो । (देवकी भट्ट)


Comments