Home > अर्थ > धुरुधुरु किन रोए मदन कृष्ण ? पढ्नुहोस्

धुरुधुरु किन रोए मदन कृष्ण ? पढ्नुहोस्

चैत २७, अरुलाई पेट मिचीमिची हँसाउने मान्छे डाँको छोडेर धुरुधुरु रोए । हँसाउने मान्छेले रुनै हुँदैन थियो भनेझैं गरी मदनकृष्ण रोए भनेर हल्ला भयो । यूट्युब र सामाजिक सञ्जालमा मदनकृष्ण रोएको दृश्य भाइरल नै बन्यो । सधैं हँसाइराख्ने, हाँसिरहने मान्छे रोएको देखेर अरुको पनि आँखा रसायो । सबैका आँखा रसाउनेगरी रोएका मदनकृष्णले आँसु पुछ्दै फेसबुकमा चार हरफको कविता कोरे :

सबैले माया मारेर केभो
तिमी छँदैछौ नि मलाई प्यार गर्ने
तिमीले पनि माया दिन नभ्याउँदा
आँसु छँदैछ नि मलाई स्यार गर्ने

सबैको मनमा बस्न सफल भएका मदनकृष्णलाई माया मार्न सक्ने त कोही थिएनन् र छैनन् । तर जीवनसंगीले दिनेजस्तो माया अरुबाट मिल्न पनि गाह्रो हुन्छ नि । त्यसैले यशोदा हुँदासम्म मदनकृष्णलाई प्यारको कुनै कमी थिएन । यशोदाले छोडेपछि त्यस्तै प्यार दिने मान्छे हुने छैनन् । प्यार गर्ने मान्छे सम्झेर आँसु खसाल्ने र त्यही आँसुको स्याहारमा बाँच्ने भनेर मदनकृष्णको मनले भन्यो ।

आँसुको सहारा खोज्नुअघि साथ दिने जीवनसँगी थिइन् । तर जीवनसंगी यशोदासँगको साथ सधैंलाई छुट्यो । वर्षौंदेखि ओछ्यानमा थलिएर रहेकी यशोदाको लागि उनले के मात्र गरेनन् । उनलाई खुशी र सुखी देख्न पाँच वर्षदेखि व्रत बसे । देश विदेशका सबै अस्पताल पुर्याए । लाखौं रुपैयाँ खर्च गरे । तर कुनै उपाय काम लागेन ।
ओछ्यानमा थलिएकी यशोदाले केही गर्न नसकेपनि उनलाई देख्दा सबैथोक पूर्ण थियो । तर यशोदा नभएपछि सबैथोक भएर पनि मदनकृष्णलाई अपुरो भएको छ ।

अघिल्लो रात अस्पतालमा यशोदाले आँखा चिम्लिँदा संसारै अन्धकार भयो, त्योबेला पनि मदनकृष्ण डाँको छोडेर रोए । छोराबुहारी र नातिनीले आँसु पुछिदिए । तैपनि आँसुको भेल रोकिएन । त्योबेला उनी भक्कानिएको, आँखाबाट बलिन्द्रधारा आँसु खसालेको परिवार र आफन्तले मात्रै देखे । नजिक गएर क्यामरा तेर्साउने र टाढा उभिएर हेर्ने अरुले देखेनन् । देख्न नपर्नेले नदेखेपछि मदनकृष्ण दिल खोलेर रोए । आफूलाई स्याहार गर्न पुग्ने आँसु खसालेर रोए । रुँदा रुँदा आँसु सकिने बेला भयो, तैपनि रुवाई रोकिएन ।

भोलिपल्ट पशुपतिमा यशोदालाई अन्तिम बिदाई गर्नेबेला भयो । त्यतिबेला पनि मदनकृष्णलाई आँसुकै सहारा चाहियो । उनी फेरि भक्कानिए । अस्पतालदेखि साथ नछाडेका हरिवंशले सम्हाल्न खोजे । तर सम्हालिन कति गाह्रो हुन्छ भन्ने कुरा उनले पनि केही वर्षअघि भोगिसकेका थिए । जिन्दगीभर सहारा दिने मान्छेले छाडेर जाँदा आँसुको सहारा चाहिन्छ भन्ने उनलाई पनि राम्रोसँग थाहा थियो । त्यसैले मदनकृष्णको आँखाबाट बगेको उनको सहारालाई उनले रोक्न सकेनन् । यसअघि मदनकृष्णले आफूलाई दिएको आँसुको पैंचो तिरे, उनको आँखामा पनि आँसु छचल्कियो । मदनकृष्णलाई माया गर्ने अरु मान्छे, कलाकार, समाजसेवीले पनि उस्तै साथ दिए ।

यशोदाले सधैंका लागि अस्पतालमा आँखा चिम्लिएको र आर्यघाटबाट बिदाई गर्ने दुवै क्षणमा मदनकृष्णका लागि आँसु नै सबैभन्दा ठूलो सहारा थियो । योबेला दिल खोलेर रुन र आँसु खसाल्न पाउनु उनको अधिकार थियो । उनको व्यक्तिगत अधिकारमा कसैले पनि अवरोध गर्न मिल्दैन थियो ।

तर उनले रुन थाल्दा दर्जनौं क्यामरा उनीतिर तेर्सिए । उनी डाँको छोडेर रोएको क्यामरावालाहरुलाई बिकाउ मसला भयो । पशुपतिमा क्यामरा तेर्साएर बसेका ‘यूट्युबे पत्रकारले मदनकृष्णको आँसु सबैलाई देखाइदिए । मदनकृष्णको आँसु बेचेर केही यूट्युब हिट भए । हुँदाहुँदा ब्रह्मनालमा यशोदाको पार्थिव शरीरलाई राख्ने बेलामा पत्रकारहरुले गरेको व्यवहारलाई कसरी सम्झने ? यतिसम्म संवेदनहीन बन्नुपर्ने कारण के पैसाकै लागि हो त ?

मदनकृष्ण सेलिबे्रटी हुन, सार्वजनिक व्यक्ति हुन्, त्यसैले उनका निजी कुरा अरुका लागि पनि सरोकारका विषय हुन्छन् भनेर तर्क गर्न सकिएला । अरु रुनु र मदनकृष्ण रुनु फरक हो, त्यसैले उनले रोएको अरुले पनि थाहा पाउनुपर्छ भन्नेहरु पनि होलान् ।

तर मदनकृष्ण रोएको नदेखाउँदा नागरिकलाई सूचना र जानकारीको अभाव हुन्थ्यो र ? श्रीमतीको निधन हुँदा मदनकृष्ण कसरी रुँदा रहेछन् भनेर हेर्ने धोको सबैको थियो र ? मदनकृष्ण भक्कानिएको भिडियो र तस्बिर नराखेको समाचार अपुरो हुन्थ्यो र ? मदनकृष्ण रोएको तस्विर र भिडियो देखेर आमपाठक र दर्शकलाई के फाइदा भयो ?

यशोदालाई ब्रम्हनालमा राखेको र मदनकृष्णले धुरुधुरु रोएको दृश्य फोकस गरीगरी क्यामरा तेर्साउनेहरुसँग चित्तबुझ्दो जवाफ छ ? पक्कै छैन । आर्यघाटको त्यो क्यामराले न आँसु देख्नेलाई फाइदा गर्यो, न आँसु खसाउनेलाई । आँसुको सहारामा बाँच्न लागेका मदनकृष्णलाई त क्यामराले अवरोध गर्यो । वरिपरि क्यामरा देख्दा उनले दिल खोलेर रुन पाएनन् । आफूलाई स्याहार गर्न पुग्ने आँसु खसाल्न सकेनन् । आफू रोएको कसैले हेरिरहेको छ कि, कसैले फोटो र भिडियो हेरिरहेको छ कि भन्ने डरले उनको गला र भक्कानो अड्कियो । रुनु पर्ने बेला भक्कानिएर रुन नपाउँदा कस्तो हुन्छ भन्ने ती क्यामरावालाहरुलाई के थाहा ?

हाँस्नुजस्तै दिल खोलेर रुन पाउनु पनि व्यक्तिको निजी अधिकार हो । पीडा, वेदना र अभावलाई आँसुले केही हदसम्म मल्हमको काम गर्छ । मदनकृष्णले पनि आँसुमा यस्तै मल्हम र शक्ति खोजेका हुन् । शरीरलाई कमजोर होइन, शक्ति दिने आँसु मदनकृष्णले अझै खसाल्न पाउनुपर्छ । प्रिय मान्छेको सम्झनाले कमजोर भएको मनलाई तागत दिने आँसुमा अवरोध गर्ने अधिकार कसैलाई छैन ।

उज्यालो बाट


Comments