Home > राजनीति > भारतले लगाएको नाकाबन्दीलाई संकेत गर्दै ओलीले भने, ‘विगतमा मात्र अल्झिने कि अगाडि बढ्ने ?’

भारतले लगाएको नाकाबन्दीलाई संकेत गर्दै ओलीले भने, ‘विगतमा मात्र अल्झिने कि अगाडि बढ्ने ?’

वैशाख ३०, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सम्झौता दुबै देशको पक्षमा रहेको बताएका छन् । प्रतिनिधिसभालाई मोदीको नेपाल भ्रमणका बारेमा जानकरी दिँदै प्रधानमन्त्रीले भारतसँग भएका सहमति र सम्झौताका हरेक शब्दको जिम्मा लिने बताए ।

‘ढुक्क भए हुन्छ, अध्ययन गर्नुभए हुन्छ, वकतव्यहरू सार्वजनिक छन्’, प्रधानमन्त्रीले भने, ‘हामीले जारी गरेको संयुक्त प्रेस वक्तव्य र सबै भेटघाट सार्वजनिक छन्, लाइभ छन्, कुनै शब्दमा पनि तलमाथि परेको छ भने म जिम्मा लिन्छु ।’ सहमतिका क्रममा राष्ट्रहीतलाई शिरोधार्य गरिएको जिकिर गर्दै उनले ‘प्रधानमन्त्रीको हैसियतमा देशको शिर निहुरिन नदिने काम गर्ने’ बताए ।

सधैँ तनावमा बस्ने ?

प्रधानमन्त्रीले विगतमा मात्र अल्झिएर तनावपूर्ण अवस्थामा कुनै पनि राष्ट्र बस्न नसक्ने बताए । ‘विगतमा त्रुटि भए’, संविधान निर्माणलगत्तै भारतले लगाएको नाकाबन्दीतर्फ संकेत गर्दै प्रधानमन्त्रीले भने, ‘तर विगतमा मात्र अल्झिने कि अगाडि बढ्ने ? तीन वर्ष अगाडि तनावपूर्ण अवस्था थियो, के तनावका बीचमा मात्र बस्ने ?’

दक्षिण कोरिया र उत्तर कोरियाबीच सम्बन्ध सुधार भएको तथा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राष्ट्रपति किम जोङ ऊनबीच हुन लागेको भेटको उदाहरण दिँदै प्रधानमन्त्रीले झुक्न नहुने तर सम्बन्ध सुधार गर्नुपर्नेमा जोड दिए ।

‘हामी सम्बन्ध बिग्रिएकोमा खुसी छैनौँ, मैले पहिला पनि भनेको थिएँ’, प्रधानमन्त्रीले भने, ‘सम्बन्ध बिग्रिएको हाम्रो कारण होइन । र, बिग्रिने कारण हटाएर सुधारको बाटो लिन चाहन्छौँ। त्यसमा हामी सफल भयौँ भने त्यो खुसीको कुरा हो ।’

नेपाली जनताको ‘देशभक्ति, राष्ट्रवादी अडान र स्वाभिमान’ का लागि उनले धन्यवाद दिए। ‘यसकै कारण बिग्रिएको सम्बन्धलाई राम्रो बनाउन भूमिका खेलेको छ’, प्रधानमन्त्रीले भने, ‘नेपाल भारत सम्बन्ध नयाँ आयाममा र स्तरमा उठेको छ । बराबरी तथा सार्वभौम र स्वाधीन राष्ट्रको हैसियतमा सम्बन्ध अगाडि बढाउन सकिने वातावरण निर्माण भएको छ ।’

नेपाल आएर दुई देशबीचको मित्रता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेकोमा उनले भारतका प्रधानमन्त्री मोदीलाई पनि धन्यवाद दिए । ‘उहाँले सिमानामा बाँध बाधेर डुबाउने कुरा गर्नुभएन बरु बाँधेका बाँध खोल्ने कुरा गर्नुभएको छ’, उनले भने, ‘म अपेक्षा गर्छु, यी कार्यान्वयनमा हामी रुचिसाथ अगाडि बढ्छौँ र भारत पनि त्यही रुचिसाथ अगाडि बढ्नेछ ।’

साभार अन्नपूर्ण पोस्ट


Comments