Home > राजनीति > पार्टी बलियो बनाउन सबै नेता कार्यकर्ता एक हुन देउवाको आह्वान

पार्टी बलियो बनाउन सबै नेता कार्यकर्ता एक हुन देउवाको आह्वान

असार २५, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी दिनमा पार्टीलाई बलियो बनाउन सबै नेता कार्यकर्तालाई एक हुन आह्वान गरेका छन् ।

काँग्रेसका पुराना नेताहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले पार्टीलाई अन्तर्घात मुक्त र अनुशासित बनाई पुरानै अवस्थामा पु¥याउने दृढता व्यक्त गरे । सभापति देउवाले पार्टीलाई सुदृढ गर्न आरोप प्रत्यारोपभन्दा माथि उठेर छलफल गर्नुपर्ने बताए ।

वाम गठबन्धन र पार्टीभित्रको अन्तर्घात निर्वाचनमा पार्टी पराजयको प्रमुख कारण रहेको उल्लेख गर्दै सभापति देउवाले भने, “निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि ।” टिकट वितरणमा केही कमजोरी भएको स्वीकार्दै उनले आफ्नै साथीलाई दुश्मन देखेर अन्तर्घात गर्ने प्रवृत्तिलाई रोक्ने बताए ।

निर्वाचनमा पराजयको कारण प्रधानन्यायाधीशमाथिको महाअभियोग पनि हो भन्ने भनाइको खण्डन गर्दै सभापति देउवाले भने–“नेपाल प्रहरीको प्रमुख सरकारले नै बनाउने हो । प्रहरीको कार्यसम्पादन मूल्यांकनका आधारमै उक्त काम तत्कालीन सरकारले गरेको हो ।”

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा अहिलेसम्म काँग्रेसको विकल्प नभएको र आगामी दिनमा आउन सक्नेतर्फ सचेत रहन नेता कार्यकर्तालाई आग्रह गरे ।

काँग्रेसमा स्थापनाकालदेखि नै गुट रहेको प्रसंग उल्लेख गर्दै उनले भने, “गुटलाई व्यवस्थापन गर्नुपर्छ ।” पार्टीमा निष्पक्ष न्याय र मूल्यांकनको व्यवस्था गर्न आवश्यक रहेको बताउँदै उनले पार्टीमा सुधारका लागि आत्मचिन्तन गर्नुपर्ने बताए ।

वर्तमान सरकार कर्मचारी र लोकतन्त्र पक्षधरलाई तर्साएर सामाजिक फाँसीवादतर्फ उन्मुख रहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले मुलुक र लोकतन्त्र बचाउन पनि काँग्रेस बलियो हुनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा काँग्रेस नेता विजयकुमार गच्छदारले गुट उपगुटयुक्त काँग्रेसले मुलुकको वर्तमान चुनौतीको सामना गर्न नसक्ने उल्लेख गर्दै सबै एकढिक्का भएर पार्टीलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गरे ।

आफू सदैव लोकतन्त्र स्थापना र सुदृढीकरणका लागि लडेको बताउँदै उनले लोकतन्त्र जोगाउनकै लागि आफू तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग सहकार्य गर्न छोडेर काँग्रेसमा फर्केको स्मरण गराए । news24


Comments