Home > समाचार > दार्चुलामा वाढीले पुरिए आधा दर्जन घर, नदीका किनारका बस्ती नै जोखिममा !

दार्चुलामा वाढीले पुरिए आधा दर्जन घर, नदीका किनारका बस्ती नै जोखिममा !

असार २७, दार्चुलाको नौगाड गाउँपालिकाको नौगाड खोलाले वितण्डा मच्चाएको छ । गएराति परेको भारी वर्षाका कारण दार्चुलामा विभिन्न नदी खोलाहरुमा पानीको बहाब बढेर विभिन्न स्थानमा क्षति गरेको छ ।

बाढीले दुई वटा आरसीसी पूल बगाएको छ भने धुलीगडा खार खलंगा सडक अवरुद्ध छ । धुलीगडा, गोगने, सौकेबगर खार सडकको ठाउँ ठाउँमा पहिरो गएपछि एक ठाउँबाट अर्को ठाउँ जाने सडक सञ्जाल अवरुद्ध भएको छ ।

दुइ वटा विद्यालय जोखिममा परेपछि विद्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताउनु भयो । गाउँपालिका अगाडि रहेको वडा नम्बर ३ को नौगेडेश्वरी प्रावि होपरीगाड र वडा नम्बर ५ मा रहेको समैजी निमावि सौकेबगर विद्यालय जोखिममा परेका छन् ।

विद्यालयको फिल्ड समेत भत्काइसकेको छ । विद्यालय आउन सक्ने अवस्था नभएपछि विद्यालय बन्द गर्न भनिएको छ । खारको आरसीसी पूल, गोधानीको पूल गरी दुई वटा यसपाली निर्माण भएका पूल बगाएको छ । वडा नम्बर ३ मै रहेको मनवीरसिह ठगुन्नाको किराना पसल बगाएको स्थानीय प्रताप सिह ठगुन्नाले जानकारी दिनुभयो ।

यस्तै हरकसिह ठगुन्ना र दलजीत ठगुन्नाको अधिकांश खेती बारी बगाएको छ । धुलीगडा र होपरी जोड्ने गरी गत वर्ष झण्डै २० लाख रुपैयाँ लागतमा निर्माण गरिएको कपडे भेलको पर्खाल बगाएपछि सडक पूरै अवरुद्ध भएको हो ।

यस्तै वडा नम्बर १ को प्रावि लक्सेरीको विद्यालय भवन माथिबाट पहिरो आएपछि विद्यालय पूरै जोखिममा छ भने गोधानी जलविद्युत अवरुद्ध भएको छ । गाउँपालिका भवन नजिक रहेका होपरीगाड वस्ती पूरै जोखिममा छ ।

नौगाड गाउँपालिकाको सिप्टी जोड्ने आरसीसी पूल पूरै जोखिममा छ् ।यस्तै नौगाड गाउँपालिका वडा नम्बर १ मा रहेको गोधानी खोला लघु जलविद्युत् आयोजनाको विद्युत् गृहमा क्षेति भएको छ । गरिबी निवारण कोषको ६० लाख बढी लगानीमा निर्माण गरिएको गोधानी खोला लघु जलविद्युत् आयोजनामा क्षेति पुगेपछि उक्त बस्तीहरुमा क्षेति पुगेको छ ।

०७० सालको बाढिले नौगाडमा यस्तै क्षति गरेको थियो । अहिले पनि सो भन्दा ठूलो बाढि आएको मिडिया विकास समाज नेपाल दार्चुलाका सदस्य आनसिँह बडालले बताएका छन् । इलाका प्रहरी कार्यालय गोकुलेश्वर, प्रहरी चौकी सिप्टी र प्रहरी चौकी दल्लेकबाट प्रहरी टोली उद्धारका लागि ती बस्तीमा परिचालन गरिएको छ ।

उद्धारका लागि खटिएको प्रहरी टोली संग समेत सम्पर्क हुन नसकेको प्रहरी चौकी सिप्टीले जनाएको छ । बाढी पहिरोले ग्रसित उक्त बस्तीमा विभिन्न पशुचौपाय, अन्य भौतिक क्षेति भएपनि मानबीय क्षेति भने नभएको प्रहरी जनाएको छ ।


Comments