असार ४, एजेन्सी । जापानको ओसाका शहरमा गएको भूकम्पका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने केही मानिसहरू घाइते भएका छन् । बिहान ७ बजेर ५८ मिनेटमा गएको भूकम्पमा ज्यान गुमाउनेमा एक जना ८० वर्षका वृद्ध पनि छन् भने ९ वर्षकी बालिकालाई पर्खालले किचेको थियो ।
भूकम्पले बिहानीपखको व्यस्त समयमा यातायात प्रणालीलाई अवरुद्ध बनाएको थियो भने दशौं हजार मानिसहरूलाई विद्युतको पहुँचबाट वञ्चित गरेको थियो । रेल सेवाहरू ठप्प भएपछि दशौँ हजार मानिसहरू अलपत्र परेका थिए ।
अमेरिकी भूगर्वविद्हरूले उक्त भूकम्प ५ दशमलव ३ म्याग्निच्युडको भएको बताएका छन् । जापानी सञ्चार माध्यमहरूका अनुसार ओसाका महानगरको उत्तरी भागमा केन्द्रबिन्दु रहेको त्यो भूकम्प ६ दशमलव ३ म्याग्निच्युडको थियो ।
भूकम्पका कारण घरहरू भत्किएका र खानेपानीको प्रणालीमा पनि क्षति भएका छन् । तर जापानको कडा भवन निर्माण मापपदण्ड पालना गरेर ठूला भवनहरू बनाइएकोले धेरै ठूलो क्षति हुन पाएन ।
बीबीसीबाट साभार
Comments are closed.