असार १०, एजेन्सी । राष्ट्रपति एमरसन मनाङगाग्वालाई लक्षित गरी गराइएको एउटा विस्फोटले जिम्बाव्वेलाई स्तब्ध बनाएको छ । विस्फोटमा कुनै चोट नलागेका राष्ट्रपति मनाङगाग्वाले त्यस घटनालाई आफ्नो ज्यान लिने प्रयासका रूपमा चित्रण गरेका छन् ।
उनले सत्तारूढ जानुपीएफ पार्टी आवद्ध आफ्ना प्रतिद्वन्द्वीहरू उक्त हमलाका लागि जिम्वेवार भएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् । बुलावायोमा चुनावी र्याली सकेर हिँडन लाग्दा गराइएको विस्फोटमा दुई मन्त्रीसहित कम्तीमा १० जना घाइते भएका छन् ।
देशको दोस्रो ठूलो शहर बुलावायोमा चुनावी र्यालीपछि मञ्चबाट उनी निस्किँदै गर्दा उक्त विस्फोट भएको थियो । ग्रिनेड जस्तो देखिने विस्फोटक पदार्थ सीधै उनको समूहतर्फ प्रहार गरिएको थियो ।
विस्फोटन लगत्तै सञ्चारमाध्यमसँग बोल्दै राष्ट्रपति मनाङगाग्वाले आफूविरुद्ध विगतमा पनि हमलाहरू गरिएको भन्दै नझुक्ने प्रतिक्रिया दिए । उनले आक्रमणलाई कायरतापूर्ण कदम भन्दै त्यसबाट चुनाव नरोकिने बताएका छन्। विपक्षी पार्टीहरूले पनि उक्त विस्फोटनको निन्दा गरेका छन् ।
सात महिनाअघि सेनाले सत्तापलट गरेपछि जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेको शासनकाल अन्त्य भएको थियो । चुनावको एक महिनाअघि अकस्मात् जिम्वाब्वेमा आकलन गर्न नसकिने राजनीतिक अवस्था देखिएको हो ।
अहिलेसम्म आक्रमण कसले गरायो भन्ने प्रस्ट भएको छैन। चुनावको एक महिनाअघि मनाङगाग्वा सबैभन्दा लोकप्रिय देखिएका छन् । तर विश्लेषकहरू भन्छन् रोबर्ट मुगाबेलाई सत्ताबाट हटाउन भूमिका खेलेको र मुगाबे शासन कालमा उनलाई सघाएको दुवै कारणले उनका शत्रुहरू पनि छन् । बीबीसी
Comments are closed.