असार १३, सामाजिक सन्जालमार्फत प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई ज्यान मार्नेसम्मको धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले इलाम घर भई ललितपुरको बागडोल बस्ने ५० वर्षका विनोद गौतम र नवलपरासी सुनवल नगरपालिकाका ३६ वर्षका विष्णु ढकाललाई पक्राउ गरेको हो ।
उनीहरुले न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने ‘सीधा कुरा जनतासँग’को विषयमा परेको उजुरीको छानबिनको घटनालाई आधार बनाई नेपाल प्रेस काउन्सिलका पदाधिकारीलाई सामाजिक सञ्जालमा आपत्तिजनक, अमर्यादित शब्दहरु प्रयोग गरी पोस्ट र कमेन्ट गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले काउन्सिलका पदाधिकारीहरुको व्यक्तिगत जीवन तथा मान प्रतिष्ठासमेतमा आघात पुर्याउने र ज्यान मार्ने धम्की दिएर सामाजिक सञ्जालमा स्टाटसहरु लेखेका थिए । मंगलबार प्रहरीले गौतमलाई काठमाडौंको टेकुबाट र ढकाललाई नवलपरासीको सुनवलबाट पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले बताए ।
उनीहरुलाई विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान कारवाहीको लागि बुधबार महानगरीय प्रहरी परिसर, काठमाडौमा पठाइएको अपराध महाशाखाले जनाएको छ । विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम यस्तो कार्यमा संलग्नलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद सजायँ वा दुबै सजाय हुने व्यवस्था छ । onlinekhabar
Comments are closed.