Nepal's First Video FM

पूर्व सहमति अनुसार नै मुख्यमन्त्री चयन हुने

425

माघ २४, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २ नम्बर प्रदेशमा पूर्व सहमति अनुसार नै मुख्यमन्त्री र प्रदेश सरकार गठन हुने बताउनुभएको छ । निर्वाचनअघि बढी सिट जित्ने पार्टीले मुख्य मन्त्री लिने र सरकार गठनमा सहकार्य गर्ने सहमति भएको भन्दै अध्यक्ष यादवले सोही सहमति अनुसार दुबै दल अघि बढ्ने स्पष्ट पार्नुभयो । राष्ट्रिय जनता पार्टीसँगको प्रारम्भीक छलफल सकारात्मक दिशामा अघि बढेको भन्दै उहाँले केही दिनभित्रै पदीय भागबण्डाको खाका आउने उल्लेख गर्नुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा बिहान कुरा गर्दै अध्यक्ष यादवले स्वभाविक रुपमा मुख्य मन्त्री आफ्नो पार्टीले पाउने र अन्य पद बिभाजनबारे छलफल भइरहेको उल्लेख गर्नुभयो ।यादवले भन्नुभयो–व्यक्तिगत हिसाबमा राजपाका नेताहरुले मुख्य मन्त्रीको दाबी गरेका होलान, पार्टीबाट कुनै त्यस्तो दाबी छैन । उहाँले चर्चामा आएको आलो पालो नेतृत्व प्रणालीलाई आफ्नो पार्टीले पूर्णत अस्वीकार गरेको समेत बताउनुभयो । केन्द्रीय राजनीतिमा आएको यस्तो विकृित प्रदेशमा नभित्र्याउने यादवको जिकिर थियो । केन्द्रीय सरकारमा सहभागीताको बिषय छलफलमै रहेको भन्दै उहाँले सत्ता नेतृत्वकर्ता दलको आचरणमा भर पर्ने स्पष्ट पार्नुभयो । यसैबीच प्रदेश सरकार गठनका लागि संघीय समाजवादी फोरम र राजपाले आन्तरिक छलफल गर्ने भएका छन् । हिजो प्रारम्भिक छलफल भएपनि सहमति हुन नसकेपछि दुबै पार्टीले आन्तरिक छलफल पछि संयुक्त बैठक बस्ने जनाएका हुन् । अब बस्ने संयुक्त बैठकमा प्याकेजमै सहमतिको प्रयास गर्ने गरी छलफल हुने नेताहरुले जनाएका छन् ।

साभार इकान्तिपुर

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.