लगातारको अविरल वर्षासँगै देशभर जनधनको क्षति: कैलालीको पूर्वी-दक्षिण क्षेत्र डुबान, करिब २ सय परिवार प्रभावित !
असार १९, दुई दिनदेखि परेको वर्षाका कारण कैलालीको पूर्वी दक्षिण क्षेत्र डुबानमा परेको छ । कैलालीको भजनी नगरपालिका–५, कुटी लौबस्थाका करिब २ सय परिवार डुबानमा परेका हुन् । कान्द्रा नदीमा आएको बाढीका कारण सिंगो गाउँ डुबानमा परेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
भजनी नगरपालिकाकी उपप्रमुख छाया देवकोटाले लौबस्थाका करिब २ सय परिवार डुबानमा परेको बताउँदै उनीहरुलाई सोमबारदेखि नै कर्मेश्वर माध्यामिक विद्यालयमा राखिएको जानकारी दिइन । बाढी अझै बढ्न सक्ने खतरा रहेकाले स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
स्थानीय बाढीको चपेटामा परेपछि जिल्ला दैविप्रकोप उद्धार समिति सकृय भएर सो क्षेत्रमा उद्दार तथा खाद्यान्न लगायतका व्यवस्थामा लागेका रेडक्रस कैलालीका सभापति उत्तम जोशीले जानकारी दिए । उनले अहिले पानीको मात्रा कम हुदै गएको समेत जानकारी दिए ।
यसैबीच महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा रहेकोे शारदा व्यारेजको पुलमा सोमबार दिउसोदेखि गरिएको अवागमन बन्द अझै खुल्न सकेको छैन ।
दुईदिन देखि परेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले सोमबार दिउसो ३ वजेपछि पुलमा अवागमन बन्द गरेको थियो ।
महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्ने बित्तिकै भारतीय पक्षले आवतजावत बन्द गर्दै आएको छ । अहिले १ लाख ८० हजार क्युसेक पानीको मापन गरिएको छ । news24
Comments are closed.