Nepal's First Video FM

नेपालीको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियाले अवैधानिक कामदारविरुद्ध देशैभरि धरपकड थालेपछि नेपाली पनि प्रभावित

743

असार २०, नेपाली कामदारको प्रमुख वैदेशिक रोजगारीको गन्तव्य मलेसियाले अवैधानिक आप्रवासी कामदारविरुद्ध देशैभरि धरपकड थालेपछि नेपालीसहित सयौँ आप्रवासी कामदार पक्राउ परेका छन् । पक्राउ पर्ने कामदारहरूको यकिन संख्या थहा नभएपनि आइतवार यता धरपकडलाई निरन्तरता दिइएको छ ।

कतिपय अधिकारवादी संस्थाहरूले उक्त कदमले कामदारलाई असुरक्षित बनाएको प्रतिक्रिया दिएका छन् । यसैबीच विदेशी कामदारहरूको निर्भरता हटाउन मलेसियाले नयाँ नीति अवलम्बन गर्ने तयारी गरिरहेको त्यहाँका अखबारहरूले जनाएका छन् ।

विदेशी कामदारमाथिको परनिर्भरता घटाउन भन्दै पटक पटक मलेसिया सरकारले अवैध कामदारहरूलाई कानूनी हैसियत कायम गर्ने अवसरहरू दिएको थियो । अढाई वर्ष अघिदेखि ‘पुनः भर्ना र आममाफी’ कार्यक्रममार्फत त्यस्ता कामदारलाई पुनः रोजागारी वा घर फर्कन सकिने ऐच्छिक अवसर दिइएको थियो ।

उक्त कार्यक्रमको अवधि जुन महिनामा सकिए लगत्तै मलेसिया सरकारले थप कडाइ गर्न थालेको हो । यद्यपि आममाफी कार्यक्रम भने आगामी महिनासम्म रहने जनाइएको छ ।

मलेसियाली सञ्चारमाध्यमहरूका अनुसार गत आइतवार राजधानी क्वालालम्पुर र आसपासका क्षेत्रबाट मात्रै २२९ जना अवैधानिक आप्रवासी कामदार पक्राउ परिसकेका छन् ।

अन्य क्षेत्रमा समेत कयौँ विदेशी कामदारमाथि खानतलासी पक्राउ गरिएको खबरहरू सार्वजनिक भएका छन् । पक्राउ पर्नेमा इन्डोनेसियालीदेखि बांग्लादेशी र नेपाली लगायत विभिन्न मुलुकका नागरिकहरू छन् ।

मलेसियामा करिब ५ लाख नेपालीहरू वैधानिक रूपमा कार्यरत रहेको र हजारौँ अवैधानिक अवस्थामा रहेको हुनसक्ने अनुमान छ । सरकारी तथ्या‍ङ्क अनुसार यसअघि वैधानिक हुन दिइएको कार्यक्रममार्फत श्रम स्वीकृति लिने प्रक्रियामा दर्ता भएका ७ लाख ४४ हजारभन्दा बढी आप्रवासी कामदारमध्ये झण्डै आधाजसोले मात्रै पूर्ण प्रक्रियापछि श्रम स्वीकृति पाएका थिए ।

उक्त कार्यक्रमबाट हजारौँ नेपाली लाभान्वित भएका थिए । तर कैयौँले अझैसम्म पनि श्रम स्वीकृति नपाएको गुनासो गरेका छन्।नेपाली दूतावासले स्वदेश फर्कन अवैधानिक नेपाली कामदारलाई आग्रह गर्दै आएको छ ।

तर आममाफी र धरपकड समेत सँगै भइरहेकाले बाटैमा पक्राउ परिने त्रासमा कतिपय त्यस्ता कामदार नेपाली दूतावाससम्म निर्धक्क पुग्न सकिरहेका छैनन् । अध्यागमन विभागका अधिकारीहरुले आगामी अगष्ट महिना सम्ममा स्वदेश फर्कन अवैधानिक आप्रवासीहरूलाई भनेका छन् ।

बीबीसीबाट साभार

You might also like

Comments are closed.