असार २४, एजेन्सी । थाइल्याण्डको एउटा गुफाभित्र दुई हप्तादेखि फसेका १२ जना बालक तथा उनीहरूका फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न उद्धार कार्य शुरू भएको अधिकारीहरूले बताएका छन् ।
उद्धार अभियानका प्रमुख नोरोङ्साक ओसोथ्थानाकोले उद्धारकर्ताहरूको टोली स्थानीय समय अनुसार बिहान १० बजे गुफाभित्र प्रवेश गरेको बताए । गुफाको प्रवेशद्वार खाली गराइएको छ र अहिले त्यहाँ गोताखोरहरूको टोली, चिकित्सक तथा सुरक्षाकर्मी मात्रै छन् ।
सयौँ संख्यामा गुफा बाहिर रहेका पत्रकारहरूलाई अधिकारीहरूले उद्धार कार्य शुरू गर्न उक्त क्षेत्रलाई खाली गराउन आवश्यक रहेको बताएका थिए ।
जोखिमपूर्ण
अभियान प्रमुख ओसोथ्थानाकोले १८ जना गोताखोरहरू जोखिमपूर्ण ठानिएको उद्धार कार्यमा सहभागी भएको र मौसमको अवस्था हेरेर उद्धार गर्न चार दिनसम्म लाग्न सक्ने बताए । उद्धारकर्ताहरूले बालकहरूमध्ये पहिलो टोलीलाई सघाउन थालेको बुझिएको छ ।
पानीको सहत घटेको आकलन गरेर उद्धार कार्य अहिले शुरू गर्ने निर्णयमा अधिकारीहरू पुगेका हुन् । उद्धार कार्यमा सघाउन पुगोस् भनेर गुफाबाट लाखौँ लिटर पानी तानिसकिएको छ । घुम्न गएका बालक तथा उनीहरूका फुटबल प्रशिक्षक २३ जुनमा पानीको भेल आएपछि भित्र थुनिएका थिए ।
विकल्प
गुफाभित्र रहेकासम्म अक्सिजन ट्याङ्क पुर्याउने क्रममा शुक्रवार एक थाइ पूर्वनौसैनिकको ज्यान गएपछि खतराको स्थिति झन् स्पष्ट भएको हो । अधिकारीहरू भन्छन्, सानो क्षेत्रमा रहेका त्यति धेरैजनाले फाल्ने कार्बनडाइअक्साइडको मात्रालाई मध्यनजर गर्दै त्यहाँसम्म अक्सिजन पुर्याइएको छ ।
यसअघि फसेका बालक र उनीहरूका फुटबल प्रशिक्षण महिनौँसम्म भित्रै रहनुपर्ने अवस्था हुन सक्ने बताइएको थियो । बालकहरूले पौडी सिक्नुपर्ने अथवा पानीको सतह नघटेसम्म उद्धारका लागि कुर्नुपर्ने विकल्प भएको बताइएको थियो । बीबीसी
Comments are closed.