असार २५, एजेन्सी । थाइल्याण्डको गुफामा फसेका १३ जना मध्ये चार जनालाई सुरक्षित बाहिर निकालिएको छ । अन्यको पनि उद्धार गर्ने काम भैरहेको छ ।
आइतबार बिहान स्थानीय समय अनुसार १० बजे उद्दार थालिएको थियो । आइतबार दिनभरीमा चार बालकलाई सकुशल बाहिर ल्याइएको छ । सुरक्षित बाहिर निकालिएको बच्चाहरुलाई अस्पताल पुर्याइएको छ ।
आइतबार दिनभर केके भयो ?
– आइतबार बिहान १० बजेबाट उद्दारको काम सुरु भएको थियो ।
– साँझ ५ः४० बजे पहिलो बालकलाई गुफाबाट बाहिर ल्याइएको थियो ।
– आइतबार दिनभरमा चार बालकको उद्दार भएको छ । सबैलाई नजिकैको चियांग राय अस्पताल भर्ना गरिएको छ ।
– १२ विदेशी र पाँच थाइल्याण्डका उद्धारकर्ताहरुले चार बालकलाई गुफाबाट निकालेका हुन् ।
– स्थानीय समय अनुसार आइतबारका लागि राति ९ बजे उद्दार कार्य स्थगित गरिएको थियो ।
अब गुफाभित्र आठ बालक र उनका एक प्रशिक्षक गरी ९ जना रहेका छन् । उनीहरुलाई बाहिर निकाल्न अब एक दिन लाग्ने उद्धार अभियानका प्रमुख नगरोंगसाकलाई उद्धृत गर्दै बीबीसी संवाददाता जनाथान हेडले बताएका छन् ।
उद्धार अभियानका प्रमुखका अनुसार गुफामा फसेका १२ बालक र एक फुटबल प्रशिक्षकको उद्दारका लागि जम्मा ९० उद्धारकर्ताको परिचालन गरिएको छ जसमा ४० उद्धारकर्ता थाइ र ५० उद्धारकर्ता अन्य देशका छन् । शनिबार यो क्षेत्रमा पानी परेपछि उद्धारकर्ताहरुले आइतबार उद्धारको अभियान सुरु गरेका थिए ।
कसरी उद्धार गरिएको थियो ?
उद्धारकर्ताहरु गुफाभित्र डोरीको सहायताबाट पानीमा पौडिदै गएका थिए । नकाबले उनीहरुको पुरै अनुहार ढाकिएको थियो । उनीहरु बच्चाहरुलाई कसरी उद्धार गर्ने भनेर आफैँ अलमलमा थिए । यस्तो अवस्थामा पनि उनीहरुले बच्चाको उद्धार गर्न सफल भएका छन् ।
प्रत्येक एक बच्चाको उद्धारका लागि दुई जना उद्धारकर्ता रहेका थिए । उद्धारकर्ताहरुले उद्धारका क्रममा एक आधार बनाएका थिए जसले गर्दा बच्चाहरुलाई गुफाको प्रवेशद्वार बाट निकाल्न सकिन्थ्यो । उनीहरु अक्सिजनको सिलिण्डरका साथ गुफामा प्रवेश गरेका थिए जुन निकै चुनौतिपूर्ण थियो ।
उद्धारकर्ताहरु गुफामा छिर्ने अर्को प्रवेश द्वारको पनि खोजी गरिरहेका छन् । उद्धारकर्ताहरुले गुफामा पानीको सतह नबढोस् भनेर त्यहाा भएको पानी पम्पबाट बाहिर निकालिरहेका छन् ।
Comments are closed.