असार २७, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको नियमावली पारित गरेको छ । बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टी विधानका विभिन्न व्यवस्था स्पष्ट पार्न बनाइएको नियमावली पारित गरेको हो ।
नियमावली पारित भएसँगै पार्टी सञ्चालन सहज हुने नेताहरुले बताएका छन् । नियमावली नहुँदा तल्लो तहका संगठनको एकीकरण प्रक्रिया रोकिएको थियो ।
बुधबार बिहान बालुवाटारमा बसेको सचिवालयको बैठकले पार्टीको अभिन्न अंगको रुपमा रहेको नियामावलीलाई अनुमोदन गरेर प्रकासन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नियमावलीलाई अन्तिम रुप दिन सो पार्टीको सचिवालय बैठक हिजो पनि बसेको थियो । स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम मस्यौदा तयार गर्न नेता वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको कार्यदलले प्रतिवेदन बुझाएको थियो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो । एकताको तीन महिनाभित्र प्रदेश, जिल्ला कमिटी, प्रवास र जनसंगठनको एकता सक्ने पार्टीको घोषणा छ । नियमावलीको अभावमा एकीकृत पार्टी र भातृसंगठनका केही काम रोकिएका थिए ।
Comments are closed.