असार २७, तत्कालीन नेकपा एमालेको विधानमा ७० वर्षे उमेर हद कायमै रहेको भए आगामी महाधिवेशनमा धेरै नेताहरूले केन्द्रीय कमिटीबाट हट्नुपर्ने हुन्थ्यो । तर, एमाले र माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी नेकपा बनाउने क्रममा अहिले ७० वर्षे उमेर हद सुटुक्कै गायब भएको छ ।
उसो त यसअघि तत्कालीन एमालेमा शीर्षनेताहरुले यो ७० वर्षे उमेर हद त्यति धेरै रुचाएका थिएनन् । वामदेव गौतमले त आफूलाई अध्यक्ष हुन नदिन यो व्यवस्था ल्याएको भन्दै सार्वजनिक रूपमै ७० वर्ष उमेर हदको विरोध गरेका थिए ।
यदि एकीकृत पार्टीको अन्तरिम विधानमा पनि यो व्यवस्था कायम गरिएको भए गौतम मात्र होइन, केपी शर्मा ओली पनि उमेर हदकै कारण अध्यक्ष बन्न पाउने छैनन् । किनभने, नेकपाले अबको २ वर्षमा एकता महाधिवेशन गर्ने भनेको छ ।
एकता प्रक्रियाका धेरै काम बाँकी नै रहेकाले महाधिवेशन गर्दा ०७८ साल लाग्यो भने २००८ सालमा जन्मेका केपी ओली त्यस बेला ७० वर्ष पुग्नेछन् । केपी ओलीभन्दा एक वर्ष कान्छा माधवकुमार नेपाल र झलनाथ खनाल पनि आगामी महाधिवेशनसम्म ७० को नजिक पुग्नेछन् ।
नेकपाका अध्यक्ष प्रचण्ड अहिले ६४ वर्ष पुसेका छन् । विधानमा ७० वर्षे उमेर हद तोकिएको भए केपी ओलीभन्दा ३ वर्ष कान्छा रहेका प्रचण्डलाई अध्यक्ष बन्न सबैभन्दा सजिलो हुनेथियो । नेकपाका अन्य नेताहरुमध्ये नारायणकाजी श्रेष्ठ ५८ वर्षमात्र पुगेका छन् भने विष्णु पौडेलको उमेर ५९ वर्ष छ ।
त्यस्तै ईश्वर पोखरेल ६५ वर्ष र रामबहादुर थापा बादल ६३ वर्ष पुगेका छन् । पार्टीको एकीकृत विधानमा ७० वर्षे प्रावधान राखिएको अवस्थामा ओली, वामदेवलगायतका नेतालाई जति ‘रिस्क’ थियो प्रचण्ड, ईश्वर पोखरेल लगायता नेतालाई उति नै अवसरको ढोका खुल्ने थियो ।
एमालेको महाधिवेशनबाट पारित ७० वर्षे उमेर हद एकीकृत पार्टीको विधानमा कसले किन हटायो ? यसबारे स्पष्ट हुन सकेको छैन ।एमालेको नवौं महाधिवेशनबा बेला नेता ईश्वर पोखरेलले विधानमा ७० वर्षे प्रावधान घुसाएको सो पार्टीका नेताहरु बताउँछन् । उमेर पुगेका नेतालाई केन्द्रीय सदस्य बन्न नदिने प्रावधानलाई युवाहरुले पनि समर्थन गरेका कारण त्यो नवौं महाधिवेशनबाट पारित भएको थियो ।
१० औं महाधिवेशनमा वामदेव गौतम बन्न नसकुन् भनेर ईश्वर पोखरेल र केपी ओलीकै सहमतिमा विधानमा ७० वर्षे प्रावधान विधानमा राखिएको थियो,’ नेकपाका एक नेताले भने,’अहिले पार्टी एकता भएपछि अन्तरिम विधानमा महासचिव विष्णु पौडेलले सबै नेताहरुलाई खुशी पार्नका लागि ७० वर्षे प्रावधान हटाउन भूमिका खेले । tvannapurna
Comments are closed.