असार २८, पर्वतमा १ सय ९ जनामा एचआइभीको संक्रमण भएको पाइएको छ । संक्रमितमध्ये सात जना बालबालिका रहेका छन् । संक्रमित बालबालिकामध्ये दुई जना पाँच वर्षमुनिका रहेको जिल्ला स्वास्थ्य कार्यालय, पर्वतकी निमित्त कार्यालय प्रमुख सजीना महर्जनले जानकारी दिए ।
उनका अनुसार संक्रमित सातै जना बालबालिका वैदेशिक रोजगारीमा गएर फर्किएका बाबुआमाबाट जन्मिएका हुन् । कार्यालयको तथ्यांक अनुसार पर्वतमा सन् २०१२ यता एचआइभी संक्रमणबाट दुई महिला र सात पुरुषको मृत्यु भएको छ ।
एचआइभी संक्रमितहरू उपचार तथा औषधी सेवनका लागि हेरचाह केन्द्रको सम्पर्कमा आए पनि सामाजिक रूपमा खुल्न नसक्दा बालबालिका समेत संक्रमित हुँदै गएका छन । तथ्यांक अनुसार एचआइभी संक्रमितहरू खुल्ने क्रम बढेसँगै मृत्यु हुनेको सङख्या पनि बढ्दै गएको देखिएको छ ।
कार्यालयमा सम्पर्कमा आएका १ सय ९ संक्रमितमध्ये कुश्मा नगरपालिकाका ३७, फलेवास नगरपालिकाका २०, जलजला गाउँपालिकाका १०, महाशीला गाउँपालिकाका सात, मोदी गाउँपालिकाका १६, पैयुँ गाउँपालिकाका दुई जना र विहादी गाउँपालिकाका तीन जना रहेका छन् ।
Comments are closed.