असार ३१, रुसमा जारी सन् २०१८ विश्वकपको फाइनल आज हुँदै छ । नेपाली समय अनुसार राति पौने ९ बजे रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा हुने खेलमा फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्दैछन् ।
क्रोएसिया विश्वकप फाइनलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्यमा रहेको छ भने तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको फ्रान्स दोस्रो पटक विश्वकप विजेता बन्न आतुर रहेको छ ।
सेमिफाइनलको खेलमा फ्रान्सले बेल्जियमलाई १–० ले हराएर फाइनलमा स्थान बनाउँदा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै पहिलो पटक विश्वकपको फाइनलमा स्थान पक्का गरेको हो ।
नयाँ च्याम्पियनका लागि फ्रान्समा युवा स्ट्राइकर किलियन एमबाप्पे र एन्टोनी ग्रिजम्यान भएकाले फ्रान्सलाई दह्रो टिमको रुपमा मानिएको छ । कप्तान लुका मोडरिचप्रेरित क्रोसिया भने नयाँ उत्साहको साथ फाइनलमा आइपुगेकाले इतिहास रच्दै विश्वकपको उपाधि उचाल्ने दाउमा रहेको छ । यो क्रोएसियाले फुटबलमा पाएको अहिलेसम्मकै सबैभन्दा ठुलो सफलता हो ।
फिफाको विश्व वरीयतामा २०औँ वरीयतामा रहेको क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने सबैभन्दा कम वरीयतामा रहेको टोली हो । २० वर्षअघि उनीहरू विश्वकप फुटबलमा तेस्रो स्थानमा पुगेका थिए। तर त्यस बेला उनीहरू सेमिफाइनलमा फ्रान्सबाट पराजित भएका थिए ।
करिब एक महिना अगाडि सुरु भएको विश्वकपमा ३२ टोली थिए । त्यति बेला यी फाइनलमा पुगेका दुई टोली फाइनलमा पुग्छ भनेर एकदमै थोरै मानिसले परिकल्पना गरेका थिए । नाम चलेका विश्व फुटबलका स्टार स्ट्राइकरहरू लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र नेइमार घर फर्किसकेका छन् ।
त्यस्तै विश्व फुटबलका परम्परागत शक्ति राष्ट्रहरू ब्राजिल, जर्मनी र अर्जेन्टिना पनि घर फर्किसकेका छन् । ब्राजिल, अर्जेन्टिना, जर्मनी र इटालीमध्ये कुनै पनि टोली फाइनल प्रवेश नगरेको यो केवल दोस्रो पटक हो ।
यसअघि २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपमा पनि यी ४ राष्ट्रमध्ये कुनेै पनि टोली फाइनल प्रवेश गर्न सकेका थिएनन् । सम्भवतः उपाधि भिडन्तमा विश्व फुटबलका शक्तिशाली राष्ट्र नभएकाले फ्रान्स र क्रोएसियाबीचको फाइनल त्यति उत्सुकता नलाग्न सक्छ ।
Comments are closed.