असार ३१, चिकित्सा क्षेत्र सुधारको माग राखी डा. गोविन्द केसीले १५औं अनसन थालेको १६ दिन भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. केसीको स्वास्थ्यमा जटिलता आउन थालेको छ ।
डा. केसी अनसन बसेको स्थानमा चिकित्सकहरुले आवश्यक पर्नासाथ प्रयोगमा ल्याउनेगरी भेन्टिलेटरको समेत व्यवस्था गरेका छन् । उनको पिसाबमा ‘केटोन बडी’ अत्यधिक देखिन थालेको छ भने शरीरमा सञ्चित बोसोहरु पग्लेर मांसपेशी पनि टुक्रिन थालिसकेको छ ।
डा. केसीको मुटुको चाल अनियमित बन्दै गएको बताईएको छ । काठमाडौंमा थप मेडिकल कलेज खोल्न दिनेगरी चिकित्सा शिक्षा विधेयक ल्याउने प्रयासमा रहेको सरकार पक्षले डा. केसी अनसनको १६र्औ दिन लाग्दापनि वार्ताको पहल गरेको छैन ।
शनिबार राजधानीको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा जुम्लाबाट डा. केसीले अडियो सन्देश पठाई सरकारले अहिलेसम्म वार्ता गर्न नखोजेको बताएको थियो । डा. केसीले आफूलाई जबर्जस्ती काठमाडौं लगी सरकारले आफ्नो सत्याग्रह तुहाउने षड्यन्त्र गरिरहेको आरोप लगाए ।
उनले सरकारले अनसन तोडोस् भन्ने चाहेको भए आफ्ना माग पूरा गर्न अनुरोध गरेका थिए । सरकारले माथेमा प्रतिवेदन र डा. केसीसँगको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक ल्याउन लागेपछि डा. केसीले १५औं अनसन सुरु गरेको हो ।
Comments are closed.