साउन १, एक महिलालाई अपहरण गरी गाडीभित्र लगेर सामूहिक बलात्कार गरेको आरोपमा उदयपुरबाट चार युवक पक्राउ परेका छन् । लालपत्ता प्रहरी चौकीको टोलीले एमबीबीएस पढ्दै गरेका युवासहित चार जनालाई आइतबार मध्यराति पक्राउ गरेको हो ।
औषधि किन्न सिरहाको लहान बजार गएकी एक महिलालाई अपहरण गरी बा.१४च ६८१७ नम्बरको स्कर्पियो गाडीमा चढाएर सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा डाक्टरी पढ्दै गरेका सिरहा लहान नगरपालिका-६ का २५ वर्षीय सन्देश गुप्तासहित स्थानीय २४ वर्षीय अमित गुप्ता, २५ वर्षीय विवेक साह र चालक सिरहा मिर्चैयाका २६ वर्षीय नितेशकुमार साह छन् ।
गाईघाट-कदमाह सडकखण्ड अन्तर्गत त्रियुगा नगरपालिका वडा नम्बर ६ लालपत्तामा सुरक्षा जाँचका क्रममा गाडीभित्र महिला नग्न अवस्थामा फेला परेपछि चार युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिएका छन् ।
प्रहरीले सोधपुछ गर्दा ती महिलाले आफूलाई लहान बजारबाट अपहरण गरी गाडीमा चढाएर बलात्कार गरेको बताएको एसपी भट्टले सुनाए । ती महिलालाई आइतबार राति अभियुक्तले अपहरण गरेको जनाइएको छ ।
Comments are closed.