Nepal's First Video FM

शेखर-गगन संगै डा स्वर्णिम वाग्लेको ‘अर्थ संवाद’ : व्यवसायी भन्छन्- उद्योग बन्द गर्नुपर्ने अवस्था आयो, अर्थतन्त्र बचौ !

11

काठमाडौँ । कांग्रेस  नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले निजी क्षेत्र तथा आर्थिक विज्ञसँग ‘अर्थ संवाद’ गरेका छन् ।

आर्थिक तथा वित्तीय क्षेत्रमा नकारात्मक संकेत देखिन थालेका बेला सरकारमा जाने तयारी गरिरहेको कांग्रेस नेताले मंगलबार अर्थ संवाद गरेका हुन् ।संवादमा नेताहरूले अर्थतन्त्रमा देखिएका अप्ठ्याराबारे व्यवसायीको धारणा बुझ्ने प्रयास गर्नुका साथै अर्थतन्त्रलाई गति दिन के-कस्ता काम गर्न सकिन्छ भनेर सुझाव लिएका थिए ।

नेता डा. कोइरालाले समस्यामा परेको अर्थतन्त्रको अप्ठ्यारो फुकाउन सरकार र निजी क्षेत्रले हातेमालो गर्नुपर्नेमा जोड दिए । ‘निजी क्षेत्रले व्यवसाय फैलाउनुपर्छ, सरकारले बाधा-अड्चन फुकाउनुपर्छ,’ उनले भने, ‘समस्या समाधान गर्न सरकार र संसद्बाट पहल गर्ने प्रतिबद्धतासहित हामीले निजी क्षेत्र र विज्ञका कुरा सुन्न खोजेका हौँ ।’

संवादमा महामन्त्री थापाले नेपालको आर्थिक क्षेत्र सुधारका लागि सरकारले तत्काल केही महत्त्वपूर्ण कदम चाल्न आवश्यक रहेको बताए । ‘अर्थतन्त्रमा देखिएका समस्या समाधानलाई मूल विषय बनाएर अघि बढ्नु अहिले हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ । हाम्रो अर्थतन्त्रको एउटा खालको सीमा छ । निश्चित ढाँचा र ढर्राबाट चलिरहेको अर्थतन्त्रलाई संरचनागत सुधार र उपचार नगर्ने हो भने हामी कुनै न कुनै बेला थला पर्छौँ,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो अर्थतन्त्रको अवस्थाबाट कुनै एउटा निश्चित क्षेत्र मात्रै नभएर समग्र आर्थिक प्रणालीमा नै असर परेको बताए । ‘निजी क्षेत्र, व्यवसायी, बैंक मात्रै होइन, सिंगो अर्थतन्त्र प्रणालीमा नै समस्या परेको छ । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने विकराल अवस्थामा देश पुग्ने देखिएको छ ।

महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले सरकार र समाजले व्यवसायी तथा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नै गलत भएको बताए । ‘नाफा गर्नु पाप हो भन्ने जसरी व्यवहार गरिन्छ । यसरी कसरी व्यवसायीको मनोबल उकासिन्छ र लगानीको वातावरण बन्छ ?,’ मुरारकाले दुखेसो पोख्दै भने, ‘निजी क्षेत्रले काम गर्न यतिधेरै समस्या छन् कि सुनाउन कहाँ जाने भन्ने छैन

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा स्वर्णिम वाग्लेको अर्थतन्त्र सुधारका लागि सरकार निर्मम ढङ्गले अघि बढ्नुपर्ने भनाइ छ । ‘अर्थतन्त्रको संरचनागत सुधार सजिलो हुनेवाला छैन । आगामी अर्थमन्त्रीले सा-है अप्रिय निर्णय गर्नुपर्ने हुनसक्छ । त्यो अवस्था आइसकेको छ । अब टालटुले होइन निर्मम भएर जानुपर्छ,’ उनले भने, ‘संरचनागत सुधारमा ढिलाइ गर्दा समस्या थप बढ्दै जान्छ । सरकार अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीतिसहित अघि बढ्नुको विकल्प छैन ।’

You might also like

Comments are closed.