Nepal's First Video FM

आकासे पानीको भरमा रोपाइँ, प्रदेश न. ७ मा पानीको अभावले धानबाली सुक्न थाले

1,141

साउन ७, यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको हो ।

आकासको पानीको भरमा धान रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो । रोपिएको धानमा पानीको अभाव सिर्जना भएपछि खेतमा चिरा पर्न थालेको स्थानीय किसान जंगवीर चौधरीले बताएका हुन् ।

उनले भने-‘बोरिङबाट पानी तानेर धान रोपाइँ गरियो, अहिले वर्षा नहुँदा खडेरीले धान सुकेर जाने चिन्ता लागेको छ ।’ खास गरी प्रदेशका पहाडी जिल्लाको तुलनामा धान उत्पादनका प्रमुख जिल्ला तराईका कैलाली र कञ्चनपुरको धान बालीलाई पुग्ने गरी मनसुनी वर्षाको अभाव भएको छ ।

पहाडका जिल्ला बाहेक तराईको जिल्ला कैलालीमा ७१ हजार २ सय ५० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४ सय ५० हेक्टर जग्गामा धानबालीको खेती हुने गरेको छ ।

यस क्षेत्रमा मनसुनी वर्षा साउन लाग्दासम्म पूर्णरुपमा सक्रिय हुन नसकिरहेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयका प्रमुख एपी चौरसियाले बताएका हुन् ।

यसपालि धेरै पानी नपर्ने कमजोर मौसम देखिएको चौरसियाले बताए । यस क्षेत्रमा गएको असार १८ गते ९८ मिलिमिटर र २० गते ५१ मिमि वर्षा भएको रेकर्ड भएको हो ।

यो दुई दिन बाहेक त्यसपछि धानबालीलाई पुग्ने गरी ठूलो वर्षा हुन सकेको छैन । प्रदेश नं ७ मा यस वर्ष जेठ २५ गते मनसुन भित्रिएको भएपनि कमजोर मनसुन रहेको चौरसियाले बताएका हुन् ।

You might also like

Comments are closed.