साउन ११, एजेन्सी । करछलीको मुद्दामा फूटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले दुई वर्षको कारागार सजाय र दुई अर्ब ४४ करोड रुपैयाँको जरिवाना सजाय स्वीकार गर्ने भएका छन् ।
उनले स्पेनका अधिकारीहरूसँग सम्झौता गरेर यो सजाय स्वीकारेका हुन् । स्पेनी क्लब रियल मड्रिडका पूर्वखेलाडी रोनाल्डोले सन् २०११ देखि २०१४ का बीचमा करछलीका चार अभियोगमा दोष स्वीकार गरेका हुन् । यसक्रममा उनले लगभग दुई अर्ब रुपैयाँबराबरको करछली गरेको भेटिएको हो ।
उनले दोष स्वीकार गरेपछि उक्त रकमलाई ५७ लाख युरोमा घटाइएको थियो तर जरिवाना, ब्याज र अन्य खर्च जोड्दाखेरी रकम एक करोड ९० लाख युरो पुग्छ । रोनाल्डो र उनको व्यवस्थापन कम्पनी गेस्टिफुटले करछलीको अभियोग शुरूमा अस्वीकार गरेका थिए ।
उनलाई यसबारेमा सोध्दा गोलमटोल उत्तर दिने गरेका थिए । पहिलोपटक कसूर गरेकाले रोनाल्डोले कारागार सजाय भोग्नुपर्ने छैन । तर स्पेनी कानून अन्तर्गत उनले सजायकै अवधिमा फेरि कसूर गरेमा उनलाई हिरासतमा लिइने सम्भावना रहन्छ । रोनाल्डोको सजाय निर्धारण हुन बाँकी नै छ ।
उनी अन्तिम फैसलाका लागि मड्रिडको पोजुएलो दे आलार्कोनसमक्ष उपस्थित भएपछि अन्तिम सजाय दिइनेछ । रोनाल्डोका प्रतिस्पर्धी लियोनेल मेस्सीलाई पनि यस्तै किसिमको सजाय दिइएको थियो । मेस्सी र उनका पिता जोर्गेलाई क्रमशः २१ तथा १५ महिनाको कारागार सजाय दिइएको थियो ।
तर यसै वर्षको जुलाई महिनामा उनीहरूले थप जरिवाना रकम बुझाउने भएपछि कारागार सजाय रद्द गरिएको थियो । स्पेनका कर अधिकृतहरूले हालैका वर्षमा अलेक्सिस सान्चेज र हाभिएर मास्केरान्होमाथि पनि कारवाही गरेका छन् ।
गोल डट्कमबाट
Comments are closed.