Nepal's First Video FM

लोग्ने मान्छेले अर्काकी स्वास्नी ताक्न मिल्छ भने महिलाले पनि अर्काको लोग्ने ताक्न मिल्दैन र ?

901

साउन १६, लोग्ने मान्छेले अर्काकी स्वास्नी ताक्न मिल्छ भने महिलाले पनि अर्काको लोग्ने ताक्न मिल्दैन । कथाको पात्र अर्काकी श्रीमतीसँग हाकाहाकी बेडसम्म पुगेको कुरा पढ्दा मेरा कान रातापीरा भएका थिए । लोग्ने मानिस कति सजिलै यस्ता कुरा लेख्न सक्छन्, स्वास्नी मानिसले यस्तो लेख्न सक्लान् ? कसले लेख्ला यस्तो कुरा भन्ने लागेको थियो ।

तैपनि मैले नेपाली साहित्यमा स्नातक गर्ने बेलासम्म त्यस्तो कुरा कसैले लेखेनन् । अरुले कहिले लेख्छन् भनेर कुरेर बस्ने कि आफैले लेख्ने ? भन्ने प्रश्न मनमा आयो । त्यसपछि आफैंले लेख्न थालें । यति विवाद र प्रशंसा होला भन्ने लागेको थियो ? त्यो कथा २०६८ सालको मधुपर्कमा प्रकाशित भयो । छापिनु अघि यति धेरै प्रतिक्रिया आउला भन्नेचाहिँ लागेको थिएन ।

नकारात्मकभन्दा सकारात्मक प्रतिक्रिया बढी पाएँ । स्वयं मनु ब्राजाकीले– ‘महिलाले महिलाका पक्षबाट कसैले यो कथा लेखोस् भन्ने चाहेको थिएँ, तपाईंले लेख्नुभयो । तपाईंलाई धन्यवाद र बधाई छ ।’ भन्नुभयो । लोग्ने मान्छेले अर्काकी स्वास्नी फकाउन मिल्छ भने स्वास्नी मान्छेले अर्काको लोग्ने फकाउन किन मिल्दैन ? चर्चामा आउन पुरानै कुरा दोहोर्‍याएर लेखेको भनेर केहीले आलोचना नगरेका होइनन् तर ती कुरालाई मैले गौण मानेकी छु ।

नेपाली समाजमा जति पुरुषहरूले यौनिक स्वतन्त्रताको उपयोग गर्छन् त्यति महिलाहरूले गर्न सक्छन् ? इच्छा त उही हो, चाहे लोग्ने मानिस हुन् वा स्वास्नी मानिस । यौनिक स्वतन्त्रता जैविक हो तर आर्थिक स्वतन्त्रताले त्यो कुरामा उनीहरूलाई बाधा दिने गरेको छ । आजको युगमा आर्थिक स्वतन्त्रता प्रमुख भएर आएको छ । जोसँग हैसियत छ, उसले लोग्ने मान्छेलाई पनि केही दिन भाडामा लिएको देखिन्छ ।

केही महिला सौख र पैसाका लागि यौनकर्म पनि गरिरहेका पाइन्छन् । यो वर्ग सानो छ । धेरैजसो महिला आर्थिक रूपमा परनिर्भर छन् त्यसको असर उनीहरूको यौनिक स्वतन्त्रतामा पनि परेको छ । उनीहरू लोग्ने मानिसको इच्छा र इसारामा यौन कर्म गर्नुपर्ने बाध्यतामा छन् । मेरो विचारमा आर्थिक रूपमा सक्षम नहुन्जेल महिलाहरूको यौनिक स्वतन्त्रता कुण्ठित नै हुन्छ ।

तपाईंको कलम विशेष गरी युवावर्गको यौन र प्रेम वरपर नै घुम्ने गरेको छ, किन ? किनभने म पनि त्यहीं वरपर छु । आफू जहाँ उभिएको हुन्छ, लेखकले त्यही लेख्ने हो । म फेन्टासी प्रेम र यौनकथा पढ्न रुचाउँछु तर लेख्दा यथार्थ नै लेख्छु । कसरी लेखक हुनुभयो ? मेरो बुवा चितवन शिखरवास आफैंमा त्यो बेलाको प्रसिद्ध कवि हुनुहुन्थ्यो । उहाँका पाँचवटा पुस्तक प्रकाशित छन् ।

उहाँ राजा महेन्द्रको हातबाट स्वर्ण पदक र भारतीय दूतावासबाट पुरस्कृत हुनुभएको थियो । उहाँ हिन्दीमा धेरै लेख्ने भएकाले पनि नेपालमा भन्दा भारतमा परिचित हुनुहुन्थ्यो । यद्यपि मेरो लेखनमा उहाँको खासै योगदान छैन । बरु जिल्ला स्तरीय प्रतियोगिताहरूमा भाग लिँदा म स्वर्ण पदक जित्थेँ, तर मानिसहरू बुवाले लेखिदिनुभएको भनेर मेरो मानमर्दन गर्थें ।

कान्छो दाजुले भने मेरो लेखनलाई प्रोत्साहित गर्नुभयो । लेखनको टर्निङ प्वाइन्टचाहिँ कुन हो ? चितवनबाट भर्खरै काठमाडौं आएकी थिएँ कलेज पढ्न । बालकविता लेखेर पुरस्कार पाए पनि लेखिका हुन सक्छु भन्ने आत्मविश्वास थिएन ।त्यति बेला महिला आयोगले अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा राष्ट्रव्यापी कविता प्रतियोगिता पनि गराएको थियो । त्यसमा मेरो कविताले विशेष पुरस्कार प्राप्त गर्‍यो । त्यतिबेला मेरो दाजुले चिनेजानेका मानिसहरूलाई मिठाई ख्वाउनुभएको थियो । उहाँले तिमी सबैथोक छाडेर लेख्न थाल भनेर हौसला दिनुभयो ।

उक्त घटनापछि म पूर्ण रूपमा लेखनमा आएँ । कसको लेखन मन पराउनुहुन्छ ? लियो टोल्सटोय, अर्निस्ट ह्यामिङ्वे, बंगाली लेखक शरदचन्द्र भट्टोपध्याय, विनोदविक्रम धिताल, विजय मल्ल, दौलतविक्रम विष्ट तथा ध्रुवचन्द्र गौतम । आजभोलिका पुस्तक कस्ता लाग्छन् ? केही पुस्तकमा गुदी कम हुन्छन् तर तिनको हल्ला बढी हुने गरेको छ । यद्यपि युवाहरूमा पुस्तक पढ्ने बानी बसाउन यस्ता पुस्तक आवश्यक छन् । –निरुपा प्रसून, साहित्यकार । दर्पण पाेष्टबाट लिइएकाे ।

You might also like

Comments are closed.