नेपालीलाई खुशीको खबर: आजदेखि युएईमा आममाफी, अवैध रूपमा बसेका नेपालीलाई चाँडो सम्पर्कमा आउन दूतावासको आग्रह
साउन १६, युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकलाई आज (बुधबार)देखि तीन महिनासम्म आममाफीको समय दिएको छ ।
गैरकानुनी रूपमा युएईमा बसिरहेका विभिन्न देशका नगारिकसहित नेपालीले पनि आज अगस्ट १ देखि अक्टोरब ३१ सम्मभित्र बिनाजरिवाना र बिनासजाय आफ्नो देश फर्कन पाउने छन् ।
नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आह्वान गरेको छ। युएईमा अवैधानिक रुपमा लुकिछिपी बसिरहेका सबै नेपालीलाई आममाफीको प्रक्रियामा सहभागी हुन जतिसक्दो चाँडो आफ्नो सम्पर्कमा आउन दूतावासले आग्रह गरेको हो ।
भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर काम नपाई ओभर स्टे भएका, पासपोर्ट नभएका कामदारले आवश्यक कागजात मिलाएर नेपाल फर्कन पाउने दूतावासले जनाएको छ ।
दूतावासका अनुसार आफूलाई पाएक पर्ने ठाउँको अध्यागमन कार्यालयबाट यात्रा अनुमति पत्र लिने र दूतावासबाट आउटपास लिएर नेपाल फर्किन पाइने छ । तर यात्रा अनुमति पत्र पाएको एक हप्ताभित्र युएई छाडिसक्नुपर्नेछ ।
यस अवधिमा बिनाभिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले काम र भिसा दिने स्पोन्सर पाएमा वैध रूपमा पुनः युएईमै काम गर्न पनि पाउने भएका छन् । युएईमा भिसा अवधिभन्दा धेरै बसेकाहरूलाई काम खोज्न ६ महिनाको समय दिइएको छ ।
तर यो ६ महिनासम्मको अस्थायी भिसा हुनेछ । कामदार अनुमति भिसा लगाउन नसकेमा अतिरिक्त शुल्क तिरेर फेरि अस्थायी भिसामा बस्न पाइने छ । स्वदेश फर्किन चाहेमा जरिवाना र कुनै प्रतिबन्ध लागाइने छैन ।
नेपाली दूतावासका अनुसार पासपोर्ट नभएका तर भिसा लगाएर वैधानिक भई काम गर्न चाहने नेपालीको हकमा दूतावासमार्फत निवेदन दिएर राहदानी बनाउन सकिने छ । परराष्ट्र मन्त्रालय तथा राहदानी विभागसँगको समन्वयमा युएईबाट आवेदन दिएका राहदानी फास्टट्रयाकबाट दूतावासमा आउने गरी काम गर्ने तयारी गरिको दूतावासले जनाएको छ ।
Comments are closed.