१७ साउन, काठमाडौं । पछिल्लो समय नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सार्वजनिक कार्यक्रमहरुमा त्यति देखिँदैनन् । प्रचण्डका अभिव्यक्तिहरु पनि खासै धेरै बाहिर आउन छाडेका छन् । विगतमा राजनीतिक चर्चाको केन्द्रमा रहने प्रचण्ड अचेल किन ‘रिजर्भ’ मा बस्न थालेका होलान् भन्ने प्रश्न राजनीतिक बजारमा गाइँगुई सुरु भएको छ ।
तर, बिहीबार नयाँ बानेश्वरको अल्फाबिटामा आदिवासी जनजाति आन्दोलनले आयोजना गरेको कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले मनभित्रको आँधी-तुफान ओकल्ने काम गरे ।
प्रमुख अतिथिका रुपमा निम्त्याइएका प्रचण्डले सहभागीहरुबाट गाली पनि खाए, थोरै प्रशंसा पनि पाए । आफ्नो बोल्ने पालो आएपछि उनले मनको कुरा खोल्दै सहभागीलाई भने- ‘अहिले मभित्र सानो सानो आँधी हुरी चलेको छ ।’
मन्तव्यको सुरुमै प्रचण्डले आदिवासी-जनजाति अभियन्ताहरुलाई प्रश्न सोधे- ‘गोपालमानजी (कांग्रेस नेता गोपालमान श्रेष्ठ) लाई छाडेर सबै साथीहरुको बोली सुन्दैगर्दा प्रमुख अतिथिका रुपमा मलाई बोलाएको आलोचना गर्न हो कि ? माया गरेर बोलाएको हो कि ? सराप्न बोलाएको पो हो कि ? म कन्फ्यूज्ड भएको छु ।’
प्रचण्डले आफूलाई मोहन वैद्यले बम हानेर मार्न खोजेको आरोपसमेत लगाए । तर, प्रचण्डले आफ्नो भाषणमा समसामयिक राजनीति र सरकारका विषयमा खासै बोलेनन् । उनले इतिहासमा आफूले खेलेको भूमिकाको करिव २५ मिनेटसम्म व्याख्या गरेर भाषण टु्रग्याए ।
प्रचण्डको भाषण उनकै शब्दमा-
अहिले मभित्र सानोसानो आँधी हुरी चलेको छ । मैले यहाँ बोल्न थाल्ने हो भने धेरै नै कुरा बोल्नुपर्ने हुन्छ जस्तो लागेको छ । तर, समयको सीमा पनि छ र यो मञ्च धेरै कुरा बोल्ने मञ्च पनि होइन ।
फेरि पनि के भन्छु भने भर्खरै हामीले नेपालमा जातीय, क्षेत्रीय, लैगिंक मुक्तिका निम्ति भनेर हतियार उठाउनुको विकल्प रहेन भनेर विद्रोहमा गएका थियौं । एक वर्ष पनि भएको थिएन । कांग्रेस नेतृत्वकै सरकार थियो, रोमियो अपरेशन चल्यो ।
रोल्पा-रुकुमजस्ता विकट ठाउँका सोझा र इमान्दार जनता र कार्यकर्तामाथि झूठा मुद्दा लगाउने, कुखुरो बाख्रो काटेर रगतमा हात चोप्न लगाएर मैले माओवादी छोडेँ भन्न बाध्य पार्ने काम भयो । त्यसो नगर्दा हजारौं मानिसहरु घरबार छोडेर हिँड्नुपर्यो ।
अहिले हामीसँग रेकर्ड हेर्दा झण्डै ३० हजार मान्छेलाई कांग्रेसको सरकारले झूठा मुद्दा लगाएको र राजनीतिकविरोधी भएकै कारण राज्यले दमन गरेको छ । त्यसको विरोधमा काठमाडौंमा शान्तिपूर्ण आन्दोलन गर्दा कांग्रेसकै सरकार थियो, चैत २४ गते अमित शाक्यलगायतको गोली प्रहार गरेर हत्या भयो । हामी बाध्य भएर विद्रोह नगरेसम्म जनताले चाहेको जस्तो लोकतान्त्रिक परिर्वतन सम्भव छैन भनेर जनयुद्धतिर गयौं ।
त्यतिबेला मै नेता थिएँ । नेपाली जनयुद्धलाई निकै हेपिएको थियो । ६ महिना, वर्ष दिनमा सखाप पारिन्छ भन्ने विश्वास थियो त्यतिबेलाका शासकहरुलाई । मैले त्यसको पहलकर्ताको नाताले एक वर्षपछि पोलिटब्यूरोको बैठकमा जातीय आत्मनिर्णय, स्वायत्तता र संघीयताबारे एउटा विस्तृत दस्तावेज प्रस्तुत गरेँ । जातीय, क्षेत्रीय मुक्तिमोर्चा गठन गर्ने र जातीय आत्मनिर्णयको आन्दोलनका रुपमा अगाडि बढाउने निर्णय भयो ।
शासकहरुले दमन गर्न विभिन्न हत्कण्डा अपनाए । जब यो उत्कर्षतिर गयो, उत्पीडित जातिहरुमा नयाँ जागरण आयो । मेरो ध्यान मधेसमै केन्दि्रत थियो । मधेसमा भेला गरेर पहिलो स्वायत्त मधेस सरकार घोषणाको नेतृत्व म आफैंले गरेको थिएँ ।
कांग्रेसकै सरकार थियो, मलगायत जातीय आन्दोलनको कुरा गर्नेहरुको टाउकाको मूल्य तोकियो । जिउँदो ल्याए पनि, मारेर ल्याए पनि ५० लाख पाइन्छ भन्नुभयो । अहिले उहाँहरु तपाईहरुको पक्षमा बोलिरहँदा अनौठो लाग्छ ।
(सबै हाँसे, हलमा बत्ति गयो )
मलाई कस्तो अनुभूति भयो होला ? आफैं हिसाब गर्नुस् । किरणजी -मोहन बैद्य) भर्खरै बोलेर जानुभयो, म उहाँलाई नै सुनाउन चाहन्थें । पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान मुख्य नारा बनाएर २०७० को चुनाव लडेको हो । जतिबेला हामी -माओवादी) त्यो संघर्ष गर्दै थियौं, किरणजीको नेतृत्वमा पार्टी विभाजन भएर उहाँहरुले मलाई बम हानेर मार्दै हुनुहुन्थ्यो । म मरिनँ, शायद ५/७ सेकेन्डको फरकको कारणले । ५ सेकेण्ड मात्र मेरो अगाडि-अगाडि भएको भए म मारिन्थें । किरणजी नेतृत्वको पार्टीले मलाई माथ्र्यो ।
(प्रचण्ड एकाएक भावुक भए )
जतिबेला म पहिचानसहितको संघीयता, संघीयतासहितको संविधानका निम्ति अनवरत संघर्ष गर्दै थिएँ । तपाईहरु हेर्नुहोला, इतिहासका तथ्यहरु । अहिले उहाँले त सजिलै भनिदिनुभयो, तपाईहरुले भनेको मानिहाल्छु । मेरो समर्थन छ, ओम-गुरुङ)जी लाई ।
मैले त्यही लडाइँ अन्तिमरुपमा लान्छु भन्दा ममाथि बम नै हान्नुपर्ने कारण के थियो कमरेड ? मभित्र आँधीहुरी आएको छ है भन्नुको तात्पर्य यो हो ।
संविधान बन्दै गर्दा उत्पीडित जाति वर्गको मागलाई अधिकतम सम्बोधन गर्न संघर्ष कति भयो सबैलाई थाहा छ । महेन्द्रजी -यादव) बोलेर जानुभयो, मेरो आफ्नै व्यथा छ । त्यो सबै तपाईलाई भनौं अहिले ? (मञ्चमा बसेकाहरुतिर हेर्दै)
तपाई पनि रहेको ३० दलको नेतृत्व गर्दै पहिचान, संघीयता, गणतन्त्र र धर्मनिपरपेक्षाका निम्ति संसद र सडकमा के के गरियो र जे बन्यो, मेरो एउटै तर्क के थियो भने अहिलेको अन्तरराष्ट्रिय र क्षेत्रीय राजनीतिक परिस्थिति र हाम्रो आफ्नै आन्तरिक शक्ति सन्तुलनका कारण हामी सम्झौता गर्न बाध्य छौं । हामीले शान्ति सम्झौता गर्दा भनेको पनि त्यही हो ।
किनभने, राष्ट्रिय मुक्ति आन्दोलन र जातीय मुक्ति आन्दोलनमा पनि जे जस्ता घटना भए, जनताले मलाई सबैभन्दा माथि लगेर राखिदिएको हुनाले मैले माथिबाट हेर्दा देखेँ । फिलिपिन्स देखेँ, टर्की देखेँ, श्रीलंका देखेँ, सबैतिर हेर्दा सम्झौताको बाटो नजानुको अर्थ आन्दोलन नै धरासायी हुने र देशमा निरंकुश तानाशही अझै धेरै वर्ष जान सक्ने देखेपछि सचेतरुपले जति उपलब्धी लिन सकिन्छ लिने र बाँकी त्यो बिसौनीमा सुस्ताएर फेरि निरन्तर अगाडि बढ्न सकिन्छ भनेर शान्ति सम्झौता गरेकै हो । जे गरियो, ठीक गरियो ।
त्यो सम्झौता १२ बुँदेमा आधारित थियो । त्यो गर्नु गलत थियो भन्ने साथीहरु पनि छन् । तर, म भन्छु सही थियो । त्यो सम्झौता नगरी लडेको भए अझ २०/३० हजार मान्छे मर्थे । तर, हामी पूर्ण विजयी हुने परिदृश्य विश्वमा थिएन । देशभित्र हामी तम्तयार थिएनौं । त्यसैले सम्झौतामा गर्यौं ।
संघीय लोकतान्त्रिक भयो । हामीले १४ प्रदेश भनेकै हो । पहिलो संविधानसभामा मैले ११ प्रदेश प्रदेशमा सम्झौता गर्न खोजेकै हो । म विवाद समाधान समितिको संयोजक थिएँ र अधिकतम लिन बल गरें । किनकि हामी ठूलो दल थियौं । फेरि १४ प्रदेश घोषणा गरेर हिँड्ने पनि हामी नै थियौं । त्यसबेला १४ त अहिले नै प्राप्त हुने स्थिति देखिएन, ११ चाहिँ प्राप्त हुने र भूगोलको बनावट जातीय पहिचान हुने देखियो ।
प्रत्यक्ष निर्वाचित राष्ट्रिपतिको कुरा पनि भएकाले म सम्झौता गर्न अघि बढें । महेन्द्र यादवजीलाई स्मरण गर्न अनुरोध गर्न चाहन्छु, त्यसबेला मधेसी मोर्चाका साथीहरु त्यसलाई हुन नदिन यति बल गर्नुभयो कि भत्काइछाड्नुभयो । किरणजी सँगै हुनुहुन्थ्यो, दौडिएर उहाँहरु (मधेसी मोर्चा) भएको ठाउँमा जानुभयो र प्रचण्डले ११ प्रदेशमा सम्झौता गर्न खोज्यो, यसलाई भत्काउनुपर्छ भनियो र जातीय पहिचान झल्कने ११ प्रदेशमा सहमति हुन सकेन ।
जनजातिका पनि एकथरी साथीहरुले कुरा बुझ्नुभएन । उहाँहरुलाई लाग्यो, सबै पाइन्छ । परिणामतः कार्यान्वयन भएन र संविधानसभा नै भंग हुने स्थिति बन्यो ।
संविधान बनाउने बेलामा जे अहिले बनेको छ, सजिलै भएको हो भनेर सोचियो भने सत्य हुँदैन । त्यहाँ प्रचण्डहरु हुँदैनथिए भने यति पनि हुनेवाला थिएन ।
अर्को सच्चाइ के हो भने १० प्रदेश र अन्य मुद्दाहरु संविधानसभामा मैले लेखेको नोट अफ डिसेन्टमा सबै छ । हामी त यति चाहन्थ्यौं, सकिएन भनेर लेखेका छौं ।
त्यसैले हाम्रो आन्दोलन जारी छ । तर, आन्दोलन जारी छ भन्ने नाममा सबै गुम्ने भएकाले यतिचाहिँ लिइहालौं भनेको हो । यतिमा सन्तोष गरेर बस्ने स्थिति छैन ।
अहिले महेन्द्रजी यादवले भन्नुभयो, पार्टी एकता गर्नु सही थियो, थिएन । भर्खर प्रधानमन्त्री, म र उपेन्द्रजी बसेर सहमति गरेका छौं, मधेस आन्दोलनमा उठेका मुद्दाहरु संविधान संशोधन गरेर सम्बोधन गर्ने । म तपाईसँग पनि त्यो सम्झौता गर्न चाहन्छु र हेर्दर्ै जानुहोला, तपाई पनि सरकारमा आइपुग्ने स्थिति बन्न सक्छ । नेपालको राजनीति हेर्दै जानुहोला । (प्रचण्डसँगै सबै हाँसे)
‘मलाई पुष्पकमल बनाउन खोजियो’
प्रचण्डले भाषणका क्रममा संविधान संशोधनीय रहेको तर, यसका लागि आवाज उठाउनुपर्ने उनले बताए । मञ्चमा रहेका जनजाति आन्दोलनका प्रवक्ता ओम गुरुङलाई सडकमा आवाज उठाउन आग्रह गर्दै उनले भने- म संसदमा आवाज उठाउँछु ।’
आफूलाई प्रचण्ड बन्न मन परेको तर, उपल्लो वर्गले पुष्पकमल दाहाल बनाउन मरिहत्ते गरेको सुनाउँदै उनले भने- मैले भनिरहेको छु, म प्रचण्ड हो । किनभने प्रचण्डसँग जनजाति छ, मधेसी छ, महिला छ, किसान छ, सिंगो राष्ट्रको एकता छ । पुष्पकमलसँग कहीँ न कहीँ बाहुन छ ।’
प्रचण्डले अझै अगाडि बढेर भने- ‘मैले गरेको आन्दोलन बाहुनको चाहिँ होइन । १७ हजारको बलिदानभित्रबाट हेर्यो भने ममाथि सबै जातजाति, वर्ग समुदायको ऋण पनि छ ।’
आफ्ना धेरै साथीहरुलाई पार्टी फुटाउँदै प्रचण्ड बन्न रहर लागेको उनले व्यंग्यसमेत गर्न भ्याए ।
प्रचण्डले भने- ‘ठोस परिस्थितिको ठोस विश्लेषण गर्न जानेन भने इतिहासले नेता मान्दैन । परिस्थिति हेरफेर भइसकेको हुन्छ, हामी पुरानै कुरा रट लगाएर बस्छौं । मेरो दृष्टिमा के छ भने मैले जे गरेँ, त्यो गर्नु पर्ने थियो, एक किसिमले भन्नुहुन्छ भने लेनिनले डाकासँग गरेजस्तै मैले पनि सन्धि गरेको छु । कैयौं आफ्ना मुद्दाहरुलाई थाति राखेर प्राप्त हुन सक्ने जति लिने गरेको छु । यति हो, अब सकिँदैन भनेको पनि छैन ।’
Onlinekhabar.com
Comments are closed.