१७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई अल्पमतबाट निर्णय गर्ने थलो बनाउन खोजेको भन्दै आक्रोश पोखेका छन् । कांग्रेसले संसदलाई आफ्नो ढंगले चल्न नदिने षड्यन्त्र गरेको उनको आरोप छ ।
‘बहुमतले काम गर्न नहुने रे । अल्पमतको इच्छाअनुसार चल्नु पर्ने रे’ २१ औं तुल्सीलाल स्मृति दिवसका अवसरमा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘अहिले विभिन्न वितण्डा मच्चाउने खोजिएको छ । त्यो हुन हामी दिँदैनौं ।’
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाई लम्बिएकोतर्फ इगिंत गर्दै उनले सुनुवाई समितिलाई आफ्नो ढङ्गले काम गर्न नदिएको बताए । ‘सुनुवाई समितिले कुनै पनि प्रस्तावित व्यक्तिका सन्दर्भमा ठीक छ कि छैन भनेर सोधपुछ गर्ने, अनुसन्धान गर्ने अधिकार राख्छ’, प्रधानमन्त्री ओलीले अगाडि भने, ‘यसरी प्रश्न सोध्न पाइन्न भने झै गरी संसदीय प्रकृया नै अबरुद्ध गर्न खोजिँदैछ ।’संसदलाई आफ्नो ढङ्गले काम गर्न दिनुपर्ने भन्दै उनले लोकतान्त्रिक प्रणाली र प्रक्रियालाई स्वस्थ र मर्यादित ढंगले लैजानुपर्ने बताए ।
लोकतान्त्रिक भनिएको शक्तिले नै संसदीय अभ्यासमाथि नै हमला गर्न खोजेको भन्दै उनले दलको हृवीप वा निर्देशनका आधारमा संसदीय प्रक्रिया चल्ने भए प्रतिनिधिसभाको निर्वाचन नै किन गर्नुपर्यो ? भनेका छन् ।आफूहरु विगतमा विभिन्न खाले दमन झेलेर आएको स्मरण गर्दै उनले भने, ‘हमला एकतिर मात्रै छैन । अहिले मात्रै भएको पनि होइन ।’
कांग्रेसले सरकारमाथि लगाएको अधिनायकवादको आरोपमा खिया लागिसकेको भन्दै प्रधानमन्त्री ओलीले व्यङग्य गरे ।
कम्युनिस्ट एकता प्रकृया अगाडि बढेसंगै आत्तिएको शक्तिले सरकारलाई ठीक ढङ्गले काम गर्न नदिन अधिनायकवादको हौवा पिटिरहेको उनको भनाइ छ । ‘कम्युनिस्ट एकता भवितव्यमा भएको होइन’ उनले भने, ‘नेकपाभित्र आन्तरिक रूपमा केही भैहाल्ला भन्ने कसै कसैले नसोचे हुन्छ ।’
एकता प्रक्रियालाई लिएर केही नेताहरुमा असन्तुष्टि रहेको तर, त्यसैमा हौसिएर, बहकिएर कोही कतै नजाने ओलीको दाबी छ ।असन्तुष्टिका स्वरहरुलाई बढाइचढाइ गरेर प्रमुख प्रतिपक्षी लगायतका शक्तिले खेल्न खोजेको उनको बुझाइ छ ।कांग्रेसले गरेको सडक आन्दोलनप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले यो आन्तरिक कलह छेल्ने मेलो मात्र भएको बताए ।
कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतापछि पनि बुर्जुवाहरुको चलखेल नरोकिएको बताए ।
नेता नारायणकाजी श्रेष्ठले एकीकृत कम्युनिस्ट पार्टीभित्र समेत भ्रष्टीकरण, गुटबन्दी जस्ता समस्या कायमै रहेको बताए । ‘पार्टीमा गुटबन्दी छैन, भ्रष्टीकरण छैन भन्न मिल्दैन’ नेता श्रेष्ठले भने, ‘पार्टी विधिले पार्टी चल्नुपर्यो, हरेक नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिनुपर्यो ।’उनले वर्तमान सरकारलाई सफल बनाउन सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा समेत जोड दिएका छन् ।
अनलाइन खबरबाट
Comments are closed.