Nepal's First Video FM

बोक्सी लागेर मरेको र पेटबाट सर्प, भ्यागुता निकाल्ने भन्दै शव चिरियो !

734

साउन,१९/ मृतकको पेटबाट सर्प, भ्यागुता, छेपारो निकाल्ने भन्दै गोरखाको धार्चे गाउँपालिका ६ काशीगाउँमा एक मृतकको शव चिरिएको छ ।

बोक्सी लागेर मरेको र उसको पेटभित्र सर्प, भ्यागुता, छेपारो रहेको भन्दै स्थानीय उच्छृंखल युवाले गत शुक्रबार (साउन ११ गते) ५२ वर्षीय भीम गुरुङको शव चिरे खुलासा भएको हो । गाउँपालिकाका प्रमुख सन्तोष गुरुङका अनुसार स्थानीय युवाले नै घरेलु हतियारले शव चिरेका हुन्।

धामीझाँक्रीबाट उपचार गराउँदा गराउँदै गुरुङको अघिल्लो बिहीबार धोरतस्थित झाँक्रीकै घरमा मृत्यु भएको स्थानीय शिक्षिका राममाया गुरुङले बताइन् । ‘भोलिपल्ट दाहसंस्कार गराउन चिहानडाँडा लगेको लाशलाई स्थानीय युवाले खुकुरी, हँसियाले चिरफार गरे’, उनले भनिन्, ‘हामी गाउँमा थिएनौं । मास्क लगाएका युवाहरूले लास काटेछन् । गाउँलेहरूले फोटो, भिडियो पनि खिचेका छन् । फलानो बोक्सी लागेर मरेको भनेर फोटो पनि देशविदेशमा पठाएका छन् ।’

स्थानीय ५६ वर्षीया काली गुरुङ र उनकी छोरी मीनकुमारी गुरुङमाथि बोक्सीको आरोप छ । ‘हाम्री आमा र बहिनी बोक्सी लागेर उनको मृत्यु भएको र बोक्सी लागेर मरेको मान्छेको शरीरभित्र भ्यागुता, सर्प र छेपारो हुन्छ भन्ने गाउँमा अन्धविश्वास छ’, आरोपित गुरुङकी छोरी सोममाया गुरुङले त्रसित मुद्रामा भनिन्, ‘हाम्रो आमा र दिदीले बोक्सी लागेर उनको मृत्यु भएको र मरेको मान्छेभित्रबाट सर्प, भ्यागुता र छेपारो निकाल्ने भन्दै लास चिरेका हुन् ।’

शव चिरेको भोलिपल्टदेखि उनको परिवारलाई सामाजिक बहिष्कार गरेको उनले बताइन् ।

बोक्सीको आरोपमा आफूहरूको पाउरोटी उद्योग चल्न छाडेको सोममायाले सुनाइन्। ‘बोक्सीको खलकले उत्पादन गरेको पाउरोटी खाँदैनौं भनेर हाम्रो पाउरोटी बहिष्कार गरेका छन्’, उनले भनिन्, ‘हामीले पाँच लाख रुपियाँ खर्च गरेर भर्खरै चलाउन थालेको पाउरोटी उद्योग अहिले बन्द भयो।’

मृतक गुरुङ गत मंसिरदेखि बिरामी थिए। रगत छाद्ने समस्याले ग्रस्त उनले पोखराको मणिपाल अस्पतालमा उपचार गराएको शिक्षिका राममाया गुरुङले जानकारी दिइन्। ‘तर बोक्सी लागेर बिरामी भएकालाई औषधिले छुँदैन भनेर अस्पतालको औषधि खान रोकेर झारफुक गरेर राखेका थिए’, उनले भनिन्, ‘मुटुको रोग लागेको भनेर अस्पतालले औषधि दिँदादिँदै पनि बोक्सी लागेर मरेको आरोप लगाए।’

आफ्नो आमा र बहिनीमाथि बोक्सीको आरोप लगाएकाले निसाफ माग्दै आरोपितकी छोरीहरू सोममाया र रामाया गुरुङले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्। उनीहरूले बोक्सी आरोप लगाउन नेतृत्व गर्ने रोशन गुरुङविरुद्ध जाहेरी दिएका हुन्।

You might also like

Comments are closed.