Nepal's First Video FM

जाजरकोट पहिरो अपडेट: ज्यान गुमाउनेको संख्या आठ पुग्यो, एक अझै बेपत्ता

946

साउन २०, जाजरकोटको सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा परि ८ जनाको ज्यान गएको छ । पहिरोमा तिर्थबहादुर बोहोराको घर र गोपाल सुनुवारको घर पुरिदा ८ जनाको ज्यान गएको जाजरकोटका सहायक जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार-‘तिर्थराज बोहराको घरमा भाडा गरी बस्ने लालबहादुर लोहारका श्रीमती र तीन छोरीको घटना स्थलमै ज्यान गएको छ भने लालबहादुर लोहार सामान्य घाइते भएका छन् ।’ उनकी श्रीमती सितली लोहार, छोरीहरु १० वर्षकी रञ्जना लोहार, ७ वर्षकी मनिषा लोहार र ३ वर्षकी भगवती लोहारको ज्यान गएको छ ।

त्यस्तैगरी, तिर्थराज बोहराकी ८ वर्षीय छोरी नन्मा बोहराको पनि घटना स्थलमा ज्यान गएको सहायक जिल्ला अधिकारी खतिवडाले जानकारी दिए ।

त्यस्तै, गोपाल सुनुवारको घरमा भाडा गरी बस्ने माया परिवारका दुई भाइहरुको पनि घटनास्थलमा नै ज्यान गएको छ । माया परिवारका भाइ दशरथ परिवारको शव फेला परेको छ भने अर्का भाइको शव अझै फेला नपरेको सहायक जिल्ला अधिकारी खतिवडाले जानकारी दिए ।

गोपाल सुनुवारको घरमा खेल्न आएका दुई बालक १३ वर्षका नरेन्द्र परिवार र १० वर्षका नविन परिवारको पनि घटना स्थलमा ज्यान गएको सीडीओ कार्यालय जाजरकोटले जनाएको छ । शवहरुको पोष्टमार्टमा लागि अस्पताल लगिएको छ ।

अहिले वर्षा रोकिएकाले पहिरा पनि रोकिएको खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार पहिरोले त्यहाँको बस्ती नै जोखिममा पारेकोले त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नका लागि भेरी नगरपालिकामा कार्यपालिकाको बैठक बसिरहेको छ ।

You might also like

Comments are closed.