कता हराए नरेन्द्र मोदीका नेपाली धर्मपुत्र जितबहादुर सारु मगर ? बेखबर सबपरिवार,सम्पर्कमा आउछन ठेगाना दिदैनन
काठमाडौं, २० साउन । भारतमा प्रचण्ड बहुमतले प्रधानमन्त्रीमा नियुक्त भएर चार बर्षअघि पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउँदा नरेन्द्र मोदीको बेग्लै क्रेज र चर्चा थियो । साथमा, उनीसँगै चर्चा थियो नवलपरासीका जितबहादुर सारु मगरको । उनी मोदीका ‘नेपाली धर्मपुत्र’का रुपमा व्याख्या गरियो ।
जितबहादुरलाई घर छाड्न आउँदा मोदीको चर्चासँगै नेपालस्थित भारतीय दूतावासले जितबहादुर परिवारलाई पाँचतारे ‘हायात’ होटलमा राखेको थियो । नवलपरासीमा २० साउनकै मितिमा जितबहादुर ‘एलीयन’ जस्तो भएका थिए । पुरै गाउँले उनलाई हेर्नका लागि झुम्मिएका थिए । तर, अहिले के गरिरहेका छन् जितबहादुर ? गुमनाम छन् ।
त्यसपछि मोदी दुई पटक नेपाल भ्रमणसहित संघीय राज्य भएपछि केही महिनाअघि नेपाल भ्रमणमा आए । जितबहादुर न मोदीलाई भेट्न आए, न मोदीले जितबहादुरलाई सम्झिए ।
मोदीले जितबहादुरकी आमा र परिवारका सबै सदस्यलाई पहिलो पटक आउँदा भेटेका थिए । मोदीले जितबहादुरकी आमा खगिसरलाई त्यसबेला भनेका थिए,‘मैले तपाईंको छोरालाई बडो माया गरेर हुर्काएँ, राम्रो कलेजमा पढाउँदै छु । अब तपाईंको जिम्मा लगाउन चाहन्छु ।’
चर्चा र समाचार रेखामा रमाउने मोदीले त्यसपछिका भ्रमणमा एक पटक पनि जितबहादुरको सम्झना गरेनन् न जितबहादुुर उनलाई भेट्नका लागि कुनै ठाउँमा पुगे ।
भारतीय वायु सेनाको विशेष विमानमा आफूसँगै जितबहादुरलाई पनि लिएर आएका मोदीले काठमाडौं उतारेका थिए । तर उनको भ्रमण सकिएको केही समय पछि नेपालमा महाभूकम्प गयो, त्यसको केही महिनापछि नेपालमाथि भारतले नाकाबन्दी लगायो । न मोदी बोले, न मोदीका नेपाली धर्मपुत्र जितबहादुरको कुनै खास टिप्पणी नै आयो ।
काठमाडौं उत्रनेबित्तिकै भारतीय प्रधानमन्त्री मोदीले आफूलाई बसोबासको व्यवस्था गरिएको होटल हायात पुगेर सबभन्दा पहिले जितबहादुरका परिवारजनलाई भेटेका थिए । प्रधानमन्त्री मोदी र छोरा जितबहादुरलाई भेट्नेबित्तिकै खगिसरा एकक्षण भावुक बनेकी थिइन् ।
जितबहादुरका आफन्तहरूका अनुसार उनी भारतमै छन् । तर, मोदीसँग छन् वा अन्यसँग भन्नेचाहीँ सम्पर्क हुन सकेको छैन । जितबहादुरले घरपरिवारसँग कहिलेकाहीँ सम्पर्क गर्दै आएका छन् ।
Comments are closed.