रामेछापमा सुत्केरी भैंसीलाई भत्ता दिन थालिएको छ । सुत्केरी महिलालाई जस्तै सुत्केरी भैंसीलाई पनि भत्ता दिन थालिएको हो । रामेछापको सुनापति गाउँपालिका हिलेदेवीले सुत्केरी भैँसी पाल्ने किसानलाई पोषणभत्ता स्वरुप तीन हजार रुपैयाँ सुत्केरी भत्ता उपलब्ध गराइएको हो । गएको आर्थिक वर्षबाट सुरुवात गरेको अभियानमा गाउँपालिकाबाट सुत्केरी भत्ताको लागि निकालिएको सूचनाको आधारमा ७ जना किसानलाई वितरण गरिएको भैँसी सुत्केरी भत्ता कार्यक्रम आर्थिक वर्ष २०७५÷०७६ मा पनि कायम गरिएको हो ।
सुनापति गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख प्रभु चौधरीका अनुसार किसानहरुले पाल्दै आएका भैँसीलाई सुत्केरी भएको अवस्थामा राम्रोसँग स्याहारसुसार र खानपिनमा ध्यान दिनुपर्ने सन्देशका साथ भत्ता दिन थालिएको गाउँपालिकाले जानकरी दिएको छ । पशुपालक किसान र समग्र जिल्लाकै किसानहरुलाई प्रबाह गराउन जिल्लामै पहिलो पटक पशु आहार सुत्केरी भत्ता वितरण गरिएको हो ।
गाउँपालिकाले व्यवसायिक पशुपालनतर्फ कृषकलाई आकर्षित गर्ने र दूध उत्पादनमा वृद्धि गर्ने उद्धेश्यले आगामी वर्षहरुमा समेत यस कार्यक्रमलाई निरन्तरता दिई थप किसानहरुलाई अनुदानको रकम दिने व्यवस्था मिलाइने सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले जानकारी दिनुभयो ।
Comments are closed.