माघ ९, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले तीन वटा प्रदेशका लागि १३ जना राष्ट्रिय सभाका उम्मेदवार उठाउने निर्णय गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उनको बालकोटस्थित निवासमा सोमबार राति बसेको स्थायी कमिटीको बैठकले प्रदेश नम्बर ५, ६ र ७ का लागि राष्ट्रिय सभाका उम्मेदवारहरुको टुङ्गो लगाएको हो।
एमाले–माओवादी संयुक्त कार्यदलले राष्ट्रियसभा निर्वाचन सम्बन्धी बुझाएको प्रतिवेदन बैठकले अनुमोदन गरेको छ। प्रतिवेदन अनुसार वाम गठबन्धनका तर्फबाट राष्ट्रिय सभा निर्वाचनमा एमाले २९ र माओवादीले १४ गरी ४३ जना उम्मेदवार उठाउने छ। तर एमालेले सोमबार आफ्नो भागमा परेका २९ मध्ये १३ जनाको नाम मात्र टुङ्गो लगाउन सक्यो।
हरेक प्रदेशबाट एक जना दलित र एक जना अपाङ्गता भएको वा अल्पसंख्यक व्यक्ति तथा तीन जना महिला र तीन खुला सदस्य गरी आठ जना निर्वाचित हुने प्रावधान संविधानमा छ।
एमालेका उम्मेदवार यी हुन्
प्रदेश नं ७–
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा
प्रदेश नं ६–
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम
प्रदेश नं ५–
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ
राष्ट्रिय सभामा प्रदेश सभाका सांसद र स्थानीय तहका निर्वाचित गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाका मेयर उपमेयरले मतदान गर्नेछन्। प्रदेश सभाका सदस्यको मतभार ४८ र स्थानीय तहको मतभार १८ रहेको छ।
राष्ट्रिय सभाका लागि माघ २४ गते मतदान हुँदैछ भने माघ १० गते उम्मेदवारीको मनोनयन पत्र दर्ता गर्ने तालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
Comments are closed, but trackbacks and pingbacks are open.