माघ २७, माधव नेपाल पक्ष समयमै सचेत नहुँदा सातवटै प्रदेशको मुख्यमन्त्रीमा आफ्नो समूह निल भएको छ । नेपालले एकजनाको नाममा पनि अडान लिन सकेनन्, जसको परिणाम आफ्नो गुटका सिनियर नेता नै पाखा लागे ।
७ मध्ये ४ प्रदेशमा एमालेले मुख्यमन्त्री पाएको थियो । ६ वटा प्रदेशमध्ये ६ र ७ माओवादीको भागमा परेपछि प्रदेश नम्बर १, ३, ४ र ५ एमालेको भागमा परेको थियो ।
५ मा चुनावअघि नै शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने निर्णय भएकाले त्यसबाहेकका प्रदेशमा एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच भागबण्डा हुनुपर्ने थियो । नेपालले आधा आधा बाँड्न प्रस्ताव गरेपछि बिच्किएका ओलीले निल नै गराइछाडे ।
नेपाल निकट एक पदाधिकारीका अनुसार प्रदेश नम्बर ३ मा अष्टलक्ष्मी शाक्यको नाममा अडान लिएको भए ओली दायाँबायाँ गर्ने अवस्थामा हुन्न थिए । ‘माधव नेपालजीले अष्टलक्ष्मी र भीम आचार्य हुनैपर्छ भन्नुभयो,’ ती पदाधिकारीले भने, ‘उसो भए चुनावमै जाउँ भनेर ओलीले प्रस्ताव नकार्नुभयो ।’ तीन नम्बर प्रदेशबाहेक बाँकीमा मुख्यमन्त्री छाडेको भए अष्टलक्ष्मीलाई पनि न्याय हुने उनको भनाइ छ ।
एमाले स्थायी कमिटीको बैठकमा नेपालले पटक पटक मुख्यमन्त्री बनाउन मापदण्ड तयार पार्नुपर्ने प्रस्ताव राख्थे । तर, ओलीले अर्को पटक गरौंला भन्दै टार्दै गएका थिए ।
प्रदेश नम्बर १ मा प्रदेश ईञ्चार्जसमेत रहेका सचिव भीम आचार्य पोलिटब्यूरो सदस्य शेरधन राईसँग पराजित भए । शुक्रबार भएको निर्वाचनमा उनी २६ मत प्राप्त गरी विजयी बनेका हुन् । आचार्यले २४ मत प्राप्त गरे । कुल ५१ मतमध्ये एक मत बदर भएको थियो ।
१ नम्बर प्रदेशमा माधव नेपाल समूहको बहुमत भए पनि टिकट वितरणमा विवादित भएका आचार्यलाई पाँच सांसदले सहयोग गरेनन् । खोटाङका राजन राईले त कतै पनि मत नदिई मत बदर गराइदिए ।
मुख्य मन्त्रीको दौडमा रहेका केन्द्रीय सदस्य जीवन घिमिरेले भने मनोनयन दर्ता गराएनन् । प्रदेश नम्बर १ मा पर्ने १४ जिल्लाका प्रत्यक्षतर्फ ५६ सिट र समानुपातिकतर्फ ३७ सिट गरी ९३ सिट संख्या छ । यो प्रदेशमा एमालेका ५१, माओवादी केन्द्रले १५, कांग्रेस २१, संघीय समाजवादी फोरम ३, स्वतन्त्र १, राप्रपा १ र संघीय लोकतान्त्रिक मञ्चको १ सिट छ ।
प्रदेश ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी भए । दलको नेता निर्वाचित भएसँगै पौडेललाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । यो प्रदेशमा एमालेका ५८ सांसद छन् । जसमध्ये पौडेलले ३४ मत र उनका प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत पाइन् ।
प्रदेश ३ मा एमालेबाट मुख्यमन्त्रीका लागि आधा दर्जन नेता आकांक्षी थिए । पौडेल अध्यक्ष ओली स्थायी कमिटी सदस्य हुँदादेखि नै मकवानपुरमा गुटको संरक्षण गर्दै आएका नेता हुन् ।
एमालेको नवौँ महाधिवेशनमा माधव नेपाल पक्षबाट उपाध्यक्षमा पराजित पाण्डेले अन्तिम समयमा संस्थापन पक्षमा प्रवेश गरी मुख्यमन्त्रीको उम्मेदवार बन्ने प्रयास गरेका थिए । प्रदेश ३ मा ओली समूहको बहुमत छ ।
प्रदेश ४ मा सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङ दुवै ओली समूहका हुन् । त्यसैगरी ५ नम्बर प्रदेशमा शंकर पोखरेल दलको नेता भइसकेका छन् । यसरी मुख्यमन्त्रीमा नेपाल समूह नै बढारिएको छ ।
Comments are closed.