साउन २३, भक्तपुर । ‘आमा म एकछिन खेलेर आउँछु है’ भन्दै प्रायः फुटबल खेल्न जाने काठमाडौँ महानगरपालिका–३२ काँडाघारी टाउन प्लानिङस्थित चमेली खड्काको ११ वर्षीय छोरा निशान खड्काको फुटबल खेलाडी बन्ने सपना अधूरै बनेको छ ।
स्कूलमा पनि फुटबलमा नै रुचि राख्ने र स्कूलबाट घर आएपछि पनि प्रायः खेल्न जाने बालक निशान शनिबार र बिदाको दिनमा पनि फुटबल खेल्नै दौडन्थे । आइतबार अपराह्न पनि त्यस्तै नै भयो ।
मृतक निशानका मामा रामकाजी सापकोटाका अनुसार आइतबार पनि स्कूल छुटेर उनी करीब सवा ४ बजे सिधै आमा चमेलीले सञ्चालन गरेको खाजा पसलमा आए । किताबको झोला पसलभित्र राख्दै स्कूल पोशाक खोलेर विश्व कपका बेलामा किनेको अर्जेन्टिनाको टिसर्ट लगाएर आमाले दिएको खाजा खाए ।
त्यसपछि वैदेशिक रोजगारीमा मलेशिया गएका बाबु गणेश खड्काले फोन गर्छु भनेकाले बाबुसँग कुरा गर्न पाइने भो भनेर मख्ख थिए । निशान अपहरण भएको दिनमा मात्रै अपहरणकारी सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय अजय तामाङ र नुवाकोट समरीका २४ वर्षीय गोपाल तामाङ तीन पटक पसलमा आएका थिए ।
घरमा रंग लगाउने काम गर्दै आएका यी दुवैले विगत तीन वर्षदेखि चमेलीकै खाजा पसलमा नियमित खाजा खाने गर्थे । उधारो खाजा खाने र कहिलेकाहीँ रकम समेत सापट्टी चल्ने गरेको अपहरणकारीले चमेलीसँग लिएको ऋणसमेत नतिरी उल्टै छोरा अपहरण गरेर हत्या गरेका छन् ।
त्यस दिन पनि छोराले कर गरेकाले चमेलीले छोरा निशान र अपहरणकारी गोपाललाई मोबाइल किन्न पठाइन् । निशानकै साइकलमा दुबै गए र एक हजार २०० मा मोबाइल किनेर ल्याएपछि गोपाल आफैँले मोबाइलमा सिम राखिदिए ।
त्यसपछि निशानले आमालाई खेल्न जान्छु है आमा भनेर गयो । “आमासँग खेल्न जान्छु भनेर बिदा लिएको त्यो क्षण उसको अन्तिम बिदाइ बन्नपुग्यो,” मामा सापकोटाले भने । छोरा खेल्न गएको केही क्षणपछि दुवै अपहरणकारी पनि पसलबाट निस्किए ।
सधैँ साढे ७ बजेसम्म खेलेर घर फर्कने निशान त्यस दिन साढे ८ बजेसम्म पनि नफर्किएपछि आमाले छिमेकीतिर खोजी गरेकी थिइन् । छिमेकीमा टिभी पो हेर्दै छ कि भनेर सोधीखोजी गर्दै गर्दा करीब ९ बजे चमेलीको नयाँ फोनमा घण्टी बज्यो ।
फोन उठाउने बित्तिकै अपहरणकारीले “तेरो छोरा हाम्रो कब्जामा छ, छोरा चाहिने भए ४० लाख ठीक पार, प्रहरीलाई खबर गरिस् भने ठीक हुन्न” भनेर फोन राखिदिएको चमेली बताउँछिन् ।
पछि पटक पटक यताबाट फोन गर्दा पनि अपहरणकारीको फोन नउठेको र स्विच अफ छ भनेपछि आत्तिएकी उनले छिमेकी र नजिकै रहेको माइतीलाई बोलाएकी थिइन् ।
बच्चा अपहरण भएको हल्लाखल्ला भएपछि छिमेकीले १०० मा फोन गरिदिएको केही बेरमै काँडाघाडी प्रहरी बिटबाट प्रहरी आयो भने त्यसको केही समयपछि महानगरीय प्रहरी अपराध महाशाखाका टोली आएको थियो ।
मृतक बालकका मामा भन्छन्, “पैसा दिन्छौँ कहाँ भेट्नेसम्म पनि भन्न पाइएन, पछि फोन नै नगरी भाञ्जाको हत्या गरे अपराधीले ।” प्रहरीको विभिन्न टोली बनाएर खोजी कार्यलाई रातभरि तीव्रता दिएको बताउँदै उनले आफैँ पनि राति ३ बजेसम्म एउटा टोलीमा बसेर भाञ्जाको खोजी गरेको बताए ।
प्रहरीको अनुसन्धान अनुसार खाजाघरमा चमेलीले अपहरणकारीकै अगाडि मलेशियाबाट श्रीमानले पैसा पठाइदिएको सुनाएका थिए । त्यही सुनेर फिरौती माग्न अपहरण गरेको र अपहरणपछि आफूहरु भाडामा बस्दै आएको मध्यपुरथिमि नगरपालिका–७ नगदेश बुद्ध विहारको तल श्याम लवटको घरमा लगेको बताइएको छ ।
हत्यापछि लवटकै निर्माणाधीन घरको डिपिसीभित्र गाडेर फरार भएको र खोजी गर्ने क्रममा सूर्यविनायक जंगलमा प्रहरीको गोली लागि दुवै अपहरणकारीको मृत्यु भएको थियो । दुई छोरी र एक छोरालाई आमाको जिम्मा लगाएर मेलेशिया गएका गणेशले घटनाका बारेमा हिजो राति मात्रै थाहा पाएआ थिए ।
मलेशियामा सँगै बसेका छिमेकी भाइले घटना हिजो दिउँसै थाहा पाए पनि उनले भने राति मात्रै थाहा पाएपछि मलेशियामै शोकमा डुबेका छन् । गत फागुनमा ४० दिनको बिदा लिएर नेपाल आएका गणेश गत चैत १३ गते मलेशिया फर्किएका हुन् ।
छोरा सँगको उहाँको अन्तिम भेट १३ गतेका लागि लेखेको रहेछ आफन्त भन्छन् । गणेश मलेशियाबाट आउँदो बिहीबार १ः३० बजेको फ्लाइटमा नेपाल आउने भएका छन् ।
Comments are closed.