Nepal's First Video FM

अपहरण भए या हत्या गरे , विवाहकै दिन बेहुला बेपत्ता

704

गैँडाकोट नगरपालिका–१४ अमरापुरीका २९ वर्षीय बालकृष्ण खरेलको गत २२ माघमा विवाह थियो । अघिल्लो दिन विवाहको सबै तयारी भयो । निकै ढिला गरी सुत्न गए । परिवारका अन्य सदस्य ओछ्यानमा जाँदा बिहान पौन एक बजिसकेको थियो । त्यतिवेलासम्म पनि उनी कोठामा सुतिरहेकै थिए ।

विवाहका दिन सबै उठे, बालकृष्ण उठेनन् । आफन्त कोठामा गए, तर उनी ओछ्यानमा थिएनन् । आफन्तले तत्कालै उनको खोजी सुरु गरे । तर, पाँच दिन बितिसक्दा पनि उनी भेटिएका छैनन् ।

बालकृष्णको अपहरण भएको हुन सक्ने परिवारले आशंका गरेका छन् । दाइ गुरुप्रसाद खरेलका अनुसार उनलाई बिहान एक बजेसम्म आफन्तले घरमै देखेका थिए । बिहान पौने ६ बजेतिर ओछ्यानमा हेर्दा नदेखेपछि खोजतलास सुरु भएको थियो ।

‘केही चिन्ताका कारण कतै गयो कि भनेर उक्त दिन गाउँघरका साथीहरूसँग सोधपुछ मात्रै गर्ने काम गरियो, कतै फेला नपारेपछि प्रहरीमा खोजी गरिदिन निवेदन दियौँ, तर अझैसम्म पनि पत्ता लाग्न सकेको छैन,’ खरेलले भने । बालकृष्ण कति वेला, कताबाट, कसरी बाहिर गए भन्नेसम्म पनि परिवारका कसैलाई पत्तो छैन ।

उनी नौ वर्ष स्पेन बसेर दुई महिनाअघि मात्र फर्किएका थिए । पारिवारिक स्रोतका अनुसार उनको राजीखुसीमा डेढ महिनाअघि विवाह पक्का भएको थियो ।

सिआइबीले अनुसन्धान गर्दै
जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले घटनाको अनुसन्धान गर्न स्थानीय प्रहरीसँग आवश्यक प्रविधि उपलब्ध नभएकाले केन्द्रमा सिफारिस गरिएको बताए ।

अहिले केन्द्रीय अनुसन्धान ब्युरो
(सिआइबी)ले अनुसन्धान सुरु गरेको पौडेलले जानकारी दिए । उनको फोन डिटेलसमेत हेरिएको भए पनि फोनमा शंकास्पद कुनै पनि कुरा, फोन नम्बर र म्यासेज नभेटिएको उनले जनाए ।

म्यासेन्जरमा अनलाइन, हिन्दीमा जवाफ
दाइ गुरुप्रसादका अनुसार उनको मोबाइलको सिम निकालिएको छ । फेसबुक र म्यासेन्जर भने खुला छ । तर, अनलाइन देखिए पनि उनले कुनै जवाफ दिएका छैनन् । गुरुप्रसादका अनुसार बालकृष्णको म्यासेन्जरबाट बिहीबार राति उनका स्पेनमा रहेका साथी दीपक कँडेललाई दुईपटकसम्म फोन गयो र काटियो । साथीले रिप्लाई गर्दा फोन उठेन ।

दीपकले अर्को साथीको म्यासेन्जरबाट फोन गर्दा उठ्यो । साथीले ‘बालकृष्ण कहाँ छन् ?’ भनेर सोधे । उताबाट हिन्दीमा ‘बालकृष्ण यहाँ नही है,’ भन्ने जवाफ आयो । फेरि साथीले फोन गरे । उताबाट हिन्दीमा ‘एकदो दिनमे कुछ कर्ना है बालकृष्ण को,’ भन्ने जवाफ आयो र फोन काट्यो । त्यसको केहीबेरमा नै बालकृष्णको फेसबुक पेजमा ‘टुमरो इज लास्ट डेट फर बालकृष्ण’ भन्ने स्टाटस पोस्ट भएको छ ।

स्थानीयद्वारा प्रशासनमा धर्ना

बालकृष्णको फेसबुकमा बिहीबार राति ‘टुमरो इज लास्ट डेट फर बालकृष्ण’ भन्ने स्टाटस पोस्ट भएपछि घरपरिवारमा रुवाबासी भएको छ । प्रहरीले घटनाप्रति खासै चासो नदिएको भन्दै स्थानीयले शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा धर्ना दिएका छन् । फेसबुकमा अपटेड भैरहेको अवस्थामा पनि घटना पत्ता लगाउन प्रहरी नतातेकाले उनको जीवन रक्षाका लागि आफूहरूले धर्ना दिएको आफन्त राजन गौतमले बताए ।
नया पत्रिका

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.