Nepal's First Video FM

सिरियाली कुर्दिस लडाकुद्वारा दुई बेलायती सदस्यलाई पक्राउ

753

माघ २७, अमेरिकी अधिकारीहरूले विद्रोही समूह इस्लामिक स्टेटका दुई बेलायती सदस्यलाई सिरियाली कुर्दिस लडाकुले पक्राउ गरेको बताएका छन्।
पक्राउ पर्नेमा एलेजान्डा कोटी र एल साफी एल्सेख छन्। उनीहरू इस्लामिक स्टेटका लागि काम गर्ने ‘बिटल्स समूह’ का सदस्य भएको अमेरिकी अधिकारीले जनाएका छन्। उक्त समूहमा ४ सदस्य छन्। उनीहरू चारैजना बेलायती नागरिक हुन्।

अमेरिकाले उनीहरूलाई आतंकारीको सूचीमा समावेश गरेको छ। उसले उक्त समूहले ‘विश्वमै फरक तथा निकै क्रूर यातना दिने’ गरेको जनाएको छ। उक्त समूहका अन्य दुई सदस्य मोहम्मद एम्वाजी र आइन डेभिस हुन्।

विटल्स समूहका प्रमुख योजनाकार मोहम्मद एम्वाजी थिए। उनी जिहादी जोनको नामबाट पनि चिनिन्थे। एम्वाजी सन् २०१५ मा सिरियाली सहर रक्कामा भएको ड्रोन हमलामा मारिएका थिए। डेविस सन् २०१५ मा टर्कीको इस्तानबुलमा पक्राउ परेका थिए। आतंककारी मुद्दामा दोषी ठहर भएपछि उनले गत वर्षदेखि जेल सजाय काटिरहेका छन्।

अमेरिकी अधिकारीका अनुसार ‘बिटल्स समूह’ ले पश्चिमा देशका कम्तीमा २७ नागरिकलाई बन्धक बनाई निकै क्रूर यातनापछि अधिकांशको टाउको छिनाएर मारेको थियो। ‘उनीहरूलाई हिरासतमा बन्द गर्नुपर्छ र चाबी फयाँकिदिनुपर्छ।’ घटनाका पीडित डेभिडकी छोरी बेथानी हैनेसले भनिन्, ‘मेरो विचारमा उनीहरूले लामो पीडादायी मृत्युवरण गर्नुपर्छ। तर वास्तवमा त्यस्तो हुनेवाला छैन।’ अर्का पीडित अमेरिकी पत्रकार जेम्सकी आमा डियाने फोलीले ‘पक्राउ परेका दुवै जनालाई आजीवन कारावास सजाय हुनुपर्ने’ बताइन्। फोलीले उनीहरूमाथि हुने कुनै पनि सजायले जेम्स नफर्कने तर आगामी दिनमा हुने यस्ता अपराध रोक्नका लागि पनि कडाभन्दा कडा सजाय दिइनुपर्ने बताइन्।

अमेरिकी अधिकारीहरूले यी दुई संदिग्ध पक्राउमा परेको पुष्टि गरेका छन्। तर बेलायती विदेश विभागले भने यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ। संयुक्तराज्य अमेरिकाले सिरियामा आफ्ना कुर्द र अरब लडाकु साझेदारहरूमाथि एकाएक हमला गरेको सिरिया सरकारले जनाएको छ।

साभार इकान्तिपुर

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.