साउन २४, केही समयअघि सीताराम कट्टेल ‘धुर्मुस’ वीर अस्पतालको ‘उपचार’ मा व्यस्त थिए । सुरुमा स्वास्थ्य मन्त्रालयको अस्पताल सफाई अभियानमा अभियन्ताको मनोबल बढाउने सोच लिएर पुगेका थिए ।
गरिब–दुःखी नेपालीको भरोसाको केन्द्र वीर अस्पताल फोहर र धुलोमैलोले आफैं बिरामी परेको देखेपछि उनले आफूलाई सम्हाल्नै सकेनन् । सफाई अभियन्ता खेम शर्मालाई सक्रिय सहयोग गर्न थाले । पानीले पखाल्ने ठाउँ त सफा हुन थाल्यो, तर रङ खुइलिएर अँध्यारो ठाउँ जस्ताको त्यस्तै ।
उनी रङरोगन गर्न पनि कस्सिए । अस्पतालका लागि यसरी ‘डाक्टर’ बनेका उनी आफ्नो स्वास्थ्य समस्याको पनि उपचार गराइरहेका छन् । हामीले वीर अस्पतालमै भेट्दा टन्सिल भएर बोली अप्ठेरो गरी निक्लिरहेको थियो उनको ।
एसिडिटी बढेपछि डाक्टरले उनलाई एन्टिबायोटिकसहितका औषधि सेवन गर्न सुझाएका रहेछन् । समयमै खाना–खाजा खानसमेत सचेत गराएछन्। अपराह्न ४ बजे भेट्न वीर अस्पताल पुग्दा उनी खाजा खाइरहेका थिए । भन्दै थिए, ‘अस्पतालकै कामले डाक्टरले भनेकै समयमा खाजा समेत खान भ्याइएन ।’
काठमाडौं आएपछि संघर्ष गर्ने क्रममा अभावको जिन्दगी जिउनुप¥यो । ‘कुनै समय खाना खान नपाएर ग्यास्ट्रिक भयो, अहिले खाने समय नपाएर बल्झिदैछ,’ वीरमा व्यस्त भएपछि ग्यास्ट्रिकले झन् गाँजेका कारण उनी त्यहीदिन अल्ट्रासाउन्ड गरेर आएका रहेछन् ।
पेट रोगका लागि नाम चलेका डाक्टर आइएल आचार्यकहाँ पुगेर उनले यसबाट उन्मुक्ति पाउन उपाय मागे । उनले अल्ट्रासाउन्ड गरी अवस्था बुझे । त्यसपछि केही औषधि सिफारिस गर्दै खानपानमा नियमितता र अनुशासनका लागि जोड गरे ।
‘ग्याष्ट्रिकका लागि अल्ट्रासाउन्ड गरेकै यो चौथोपटक हो,’ उनले भने । डाक्टरको दृष्टिमा उनको ग्यास्ट्राइटिस चिन्ता लिनुपर्ने तहमा पुगेको छैन । तर, उनलाई भने यही अवस्थाले पनि निकै समस्यामा पारिरहेको छ । यो समस्या उनी १२ वर्षदेखि भोगिरहेका छन् ।
उनले ठट्टा गरे, ‘म त ग्यास्ट्रिक ब्रान्ड एम्बेस्डर नै हो ।’ औषधि उपचार पनि १२ वर्षदेखि नै गराउँदै आएका छन् । तर, अहिलेसम्म ठीक भएको छैन । ग्यास्ट्रिकका लागि गरिने एलोप्याथिक र आयुर्वेदिक दुवै विधि प्रयोग गरिसकेका छन् ।
यसका लागि औषधि राख्ने ‘स्टोर’ समेत हुन्थ्यो कुनै समय उनको घरमा। भन्छन्, ‘मैले जीवनमा खानाभन्दा धेरै त औषधि खाएँ होला ।’ रत्नपार्कमा बेचिने चुर्णदेखि विदेशमा बनेका महंगा औषधिसम्म सबै उपभोग गरिसकेका छन् उनले ।
केही वर्षअघिको कुरा हो, जतिबेला ५० हजार रुपैयाँको ठूलो महत्व थियो । उनले एक चर्चित पत्रिकामा विज्ञापन छपाए– धुर्मुसको ग्यास्ट्रिक निको पार्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ । उनको ठेगानामा देशभरिबाट बोराका बोरा आयुर्वेदिक औषधि आउन थाले ।
केही खाएर पनि हेरे । तर, बीसको उन्नाइस भएन उनको समस्या । घरको ‘स्टोर’मा राखिएका ती जडिबुटी एकपल्टै खाल्टोमा पुरिदिए । काममा लागेपछि भोकतिर्खा बिर्सिने आफ्नो बानीलाई दोष दिन्छन् उनी । ‘म लागेपछि जुकाजस्तो हुन्छु। त्यसैले हो मलाई रोगी बनाएको,’ उनी ठट्टामा समस्या दर्शाउँछन् ।
करिअरको सुरुवाती समयमा उनले भोकभोकै संघर्ष गरे । अहिले अड्डा जमाएर बसेको ग्यास्ट्रिकको समस्या त्यहीबेला सुरु भएजस्तो लाग्छ उनलाई । उनी २०५८ सालमा काठमाडौं छिर्दा झापाबाट एक बोरा चामल, बुवाले दिएको १७ सय रुपैयाँ, एउटा सानो झोला र तन्ना थियो साथमा । जेठा छोरा भएकाले उनीमाथि जिम्मेवारीको चाङ थियो ।
बुवाले मुखै फोरेर नभने पनि आमाको उपचार गराउँदा लागेको ३६ प्रतिशत ब्याजदरको ऋण र भाइबहिनीलाई पढाउनुपर्ने जिम्मेवारी उनलाई राम्रैसँग थाहा थियो । काठमाडौंमा उनको ‘गडफादर’ कोही थिएन । न नातागोता नै कोही । काठमाडौं आएको २–३ दिन मै भाडामा कोठा लिएर बस्नुपर्यो ।
बुवाले काठमाडौंमा टिक्न दिएको पैसाबाट उनले पहिलो महिनाको किस्तास्वरुप अग्रीम ८ सय रुपैयाँ घरभाडा तिर्नुपर्ने भयो । अब उनको हातमा बाँकी थियो, कूल ९ सय रुपैयाँ । जुन पैसाले खाना पकाउने भाडा र स्टोभ किन्ने कि दैनिक गुजाराका सामान, अन्यौलमा थिए ।
पहिलो महिनामै हालत ‘पञ्चर’ भएको थियो । धुर्मुस स्कूलमा चित्र कोर्थे । ब्यानर पनि बनाउँथे । त्यसैले उनलाई घर छोड्नुअघि विश्वास थियो, काठमाडौंमा केही काम नपाए बोर्ड रंगाएरै भएपनि टिक्न सक्छु । उनले काम खोजे पनि । तर, उनको सोचले त्यतिबेला हावा खायो, जब उनी काम खोज्दै बागबजारका विभिन्न पेन्टिङ पसलमा पुगे ।
धुर्मुसले काठमाडौंमा टिक्न सबैभन्दा पहिले मार्केटिङको काम गरे । पत्रिकामा प्रकाशित हुने विज्ञापनमार्फ्त उनले जागिर पाएका थिए । उनले कमिसनको आधारमा किचनका सामान बेच्थे । उनलाई अहिले पनि आफूले बेचेको सामानको लिस्ट कण्ठस्थ छ ।
‘मैले ननस्टिक प्यान, कराई, मैन बत्तीको स्ट्यान्ड र ग्याँसको रेगुलेटर बेचेको छु,’ उनी सम्झिन्छन् । मार्केटिङमा काम गर्दा पनि उनको आर्थिक अवस्था सुध्रन सकेन। बुबाबाट थप आर्थिक सहयोगको आशा थिएन । डेरामा मिलेर बस्ने सबै साथीहरूको आर्थिक अवस्था उस्तै थियो ।
उनले संघर्षको कहानी सुनाए, ‘डेरा बस्दा तेल किन्ने पैसा हुँदैनथ्यो। बन्दाकोबी पानीमा उसिनेर खान्थ्यौं ।’ धुर्मुसले सुरू गरेको काम सजिलो थिएन । कहिले उनी पसलका सामान डोकोमा हालेर शहरका गल्ली चहार्थे, कहिले पोकोमा सकेजति सामान कोचेर सडकको दुवै छेउ नाप्थे ।
उनी सामान बिकाउन घन्टौं घाँटी सुक्ने गरि चिच्याउँथे–‘आयो आयो, भाँडा आयो’ भनेर । सामान बिक्री भएको दिन उनी भरपेट खाना खान्थे । नभएको दिन आधापेट सुत्थे । यही आधा पेटले उनमा पेटको समस्या बल्झाइदिएको हो ।
आफ्नो संघर्षपूर्ण विगतले उनलाई समाजसेवामा धकेल्यो । हाँस्य कलाकारका रुपमा उनको जोडी सफल थियो । कलाकारिता फस्टाइरहेको थियो । उनीहरूले नेपालका मात्रै विदेशका स्टेजमा महंगो पारिश्रमिक लिएर कार्यक्रम गर्थे । समाजसेवामा आउनुअघि पनि धुुर्मुुस–सुन्तलीको जोडी जोडी अमेरिका विभिन्न राज्यमा हाँस्यव्यंग्य कार्यक्रम गरिरहेको थियो ।
जब नेपालमा भूकम्प आयो । घर भत्केको, मान्छे घाइतेको भएको र मानिसका शवका दृश्य देखेपछि आफूलाई थाम्नै सकेनन् । त्यसपछि उनीहरू नेपाल फर्केर राहतमा जुटे। राहतपछि भत्किएका वस्ति बनाउन लागिपरे । केही महत्वाकांक्षी योजनासहित अघि बढिरहेका उनी यही क्रममा वीर अस्पतालसँग जोडिएका हुन् ।
अस्पतालको शौचालय सफा गर्ने मनसाय बनाएर स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको सरकारी अस्पताल सरसफाई अभियानमा सरिक भएका उनलाई त्यतिले मात्र चित्त बुझेन । उनलाई लाग्यो, ‘ट्वाइलेट चम्काएर मात्रै के गर्नु, भित्ता उस्तै मैलो र अँध्यारो छ, यसलाई पनि चम्काऊँ ।’
अहिले उनलाई नेपालका सरकारी अस्पतालका फोहर त त्यहाँको प्रणाली हो भन्ने लागिरहेको छ । वीर अस्पतालमा रातदिन बिताइरहँदा उनको मनमा एउटै कुरा खेल्थ्यो, ‘बिरामीहरू अस्पताल आएर थप बिरामी बन्ने वातावरणको अन्त्य कसरी गर्न सकिएला ?’
Comments are closed.