माघ २८, हिन्दू धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रि नजिकिदै छ । यसपटकको महाशिवरात्रिमा पशुपति क्षेत्र लागू औषध अथवा गाँजा भाङ र धतुरो मुक्त हुने अनुमान गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषले पनि पाशुपत क्षेत्रलाई लागू औषध मुक्त भएको घोषणा गरिसकेकोले यस्तो आशा गरिएको हो । तर न्यूज २४ ले पाशुपत क्षेत्रमा हुँदै आएको गाँजा व्यापारमाथिको निगरानी निरन्तर राख्दा महाशिवरात्रिको पूर्व सन्ध्यामा गाँजा व्यापार पुनः मौलाएको तथ्य फेला पारेको छ ।
हुनत शिवजीको पूजा आराधनमा भाङ र धतुरोको प्रयोग सामान्य मानिन्छ । तर यही भाङ लड्डुमा मिसाएर लठ्ठिनेहरुको लागि महाशिरात्रि एउटा वहाना बन्दै आएको छ । त्यस्तै गाँजा शिवजीको बुटी भन्दै सुक्र्याउनेहरुका लागि पनि अर्को महत्वपूर्ण आधार हो शिवरात्रि ।
तर यिनै आधारहरुमा टेकेर पवित्र पाशुपत क्षेत्रलाई लागू औषधको अखडा बनाउन खोज्नेहरुविरुद्ध न्यूज २४ ले निरन्तर निगरानी गर्दै गर्दा शनिबार पुनः एउटा दृष्टान्त फेला परेको छ । महाशिवरात्रिको तयारीबारे रिपार्ट तयार गर्न पुगेका न्यूज २४ का टिभी जर्नलिष्टहरुले गाँजाको वेचविखन खुलेआम हुँदै आएको दृश्य यसरी कैद गर्न सफल भए ।
न्यूज २४ ले गरेको निरन्तरको प्रशारण पछि पाशुपत क्षेत्रलाई लागू औषध मुक्त घोषणा गरेको पशुपति क्षेत्र विकास कोषले भने यस्को पूर्ण नियन्त्रणका लागि प्रयास जारी राखेको बताएको छ । यही क्रममा शनिबारमात्र तीन जनालाई पक्राउ गरेको छ ।
पशुपति क्षेत्रमा अगाध आस्था राखेर पुग्ने सर्वसाधारण एवं तीर्थालुहरुले पनि धर्मको नाममा विकृति भित्र्याउन नहुने धारणा राखेर लागू औषध बेचविखन कार्यको निन्दा गरेका छन् ।
महाशिवरात्रिमा पशुपति क्षेत्रमा देशविदेशबाट ठूलो संख्यामा तीर्थालुहरुको उपस्थिति हुने गर्दछ । त्यस्को लागि पाशुपत क्षेत्रको तयारी पनि भव्यरुपमा भइरहेको छ ।
उपस्थित मध्ये केहीको नियत गाजा भाङ र धतुरोको सेवन नै हुँदै आएको छ । त्यसैले पनि यसपटक पशुपति क्षेत्र विकास कोषले यस्को नियन्त्रणमा थप कडाई गर्न आवश्यक छ ।
Comments are closed.