Nepal's First Video FM

सस्तो ब्याजमा ऋण पाउन असोजसम्म कुर्नुपर्ने

995

अहिले निक्षेप तथा कर्जाको व्याजदर किन घटेन भन्ने जिज्ञासा आइरहेकै बेला नेपाल बैंकर्स एशोसिएसनले भने पहिलो त्रैमास (असोज)देखि ब्याजदर घट्न थाल्ने जनाएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नेपाल राष्ट्र बैंकले बैंकहरुलाई दिएको सिआरआरको (अनिवार्य नगद अनुपात) सिमामा कमी, विदेशबाट साथै भारतबाट पनि ऋण ल्याउन सक्ने लगायत सुविधाले त्यसको असर देखिन आर्थिक वर्षको कम्तीमा एउटा त्रैमाससम्म कुर्नुपर्ने बताए ।

यद्यपि, अहिले केही बैंकले ब्याजदर घटाउन लागेको पनि बताए । उनले भने, ‘ब्याजदर एकैपटक घट्दैन, ब्याजदर घट्न कम्तीमा पहिलो त्रैमासम्म कुर्नुपर्छ ।’

मौद्रिक नीतिले क, ख र ग वर्गमा बैंकलाई अनिवार्य नगद अनुपात (सिआरआर) ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि बाणिज्य बैंकले ६ प्रतिशत, विकास बैकले ५ प्रतिशत र फाइनान्स कम्पनीले ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था थियो ।

साथै, उनले अहिले लगानीकर्ताले १०÷१५ प्रतिशत प्रतिफल पाउँछन भन्यो भने निराश हुने भन्दै यो भन्दा बढी प्रतिफल आउने अवस्था नभएको उल्लेख गरे । दुर्गममा शाखा खोलेकोले बैंकहरुको सञ्चालन खर्च बढेको, निक्षेपको सुरक्षण २ लाखबाट ३ लाख रुपैयाँसम्म पुर्याइएको लगायत कारणले पनि नाफा धेरै बढ्न नसक्ने बताए ।

यता, गर्भनर डा. चिरञ्जीवी नेपालले सिआरआर, एसएलआर लगायतका मौद्रिक उपकरण, विदेशबाट ऋण ल्याउन सक्ने व्यवस्थाका कारण बजारमा लगानी योग्य रकमको अभाव नहुँने बताए । चालु आर्थिक वर्षको मौद्रिक नीतिले बैधानीक तरलता अनुपात (एसएलआर) बाणिज्य बैंकलाई १२ प्रतिशतबाट घटाएर १० प्रतिश, विकास बैंकका लागि ९ प्रतिशतबाट ८ प्रतिशत र फाइनान्स कम्पनीका लागि ८ प्रतिशतबाट ७ प्रतिशत कायम गरेको छ ।

हाल बजार ६६ अर्ब रुपैयाँ तरलता रहेको गर्भनर नेपालले भने । पछिल्लो तीन हप्तामा राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत ९३ अर्ब २५ करोड रुपैयाँ तरलता उठाएको छ । यसले पनि अब ब्याजदर घट्न सहज हुने गर्भनर नेपालले उल्लेख गरे । अहिले अधिकांश बैंकको बेसरेट (आधार मूल्य) नै बढी भएकाले ऋणको ब्याजदर घट्न सकेको छैन । अधिकांश बैंकहरुको बेसरेट ११ प्रतिशतसम्म छ । ratopati

You might also like

Comments are closed.