साउन २८, एजेन्सी । एउटा किलर ह्वेलले आफ्नो मृत नवजात बच्चा लिएर समुद्रमा १७ दिनसम्म भौँतारिएको र त्यसक्रममा उसले १६ सय किलोमिटरको यात्रा तय गरेको वैज्ञानिकहरूले बताएका छन् ।
क्यानडाको भ्यान्कुवर टापु पारीको हारो क्षेत्रमा त्यो किलर ह्वेलले आफ्ना साथीहरूसँगै मिलेर सालमन माछाको ठूलो समूहलाई तीव्र गतिमा लखेटेको ह्वेल अनुसन्धान केन्द्रले जनाएको छ ।
त्यो केन्द्रले शनिवार एक विज्ञप्तीमा भनेको छ, “उसको शोकको यात्रा अब सकिएको छ र उसको स्वभाव निकै चञ्चल भइरहेको छ ।” जे३५ (J35) नाम दिइएकी यो आमा ह्वेलले गत पाँचदिनदेखि विश्वको ध्यान आफूतिर खिचिरहेको थियो ।
ह्वेल अनुसन्धान केन्द्रले विज्ञप्तीमा भनेको छ, “समुद्री तटबाट लिइएका टेलिफोटो डिजिटल तस्बिरहरूमा यो आमाको शारीरिक अवस्था निकै राम्रो अवस्थामा रहेको देखिएको छ ।”
“मृत बच्चाको शव सम्भवत अमेरिका र क्यानडाबीच रहेको सालिस सागरमा समुद्रको पिँधमा झरेको छ । अनुसन्धानकर्ताहरूले त्यसलाई भेट्टाएर नेक्रोप्सी (जनावरहरूको लासजाँच) गर्ने मौका पाउन सक्छन् ।”
आफ्तो मृत बच्चालाई बोकेर अघि बढिरहेको त्यो ह्वेल जुलाई २४ मा पहिलो पटक देखिएको थियो । नवजात बच्चा त्यही दिन मरेको हुन सक्ने ठानिएको छ। मर्नुको कारण भने प्रष्ट छैन ।
किलर (अर्थात् ज्यानमारा) ह्वेल डल्फिन वर्गको सबैभन्दा ठूलो प्रजाति हो । निकै तेज गतिमा चल्ने यो जातिको ह्वेलले समुद्रमा निकै चलाखीपूर्वक आफ्नो आहारा सिकार गर्दछ । यो पृथ्वीको सबैजसो समुद्रमा पाइन्छ ।
किलर ह्वेलले आफ्नो मृत बच्चालाई एक हप्तासम्म आफूसँगै लिएर भौँतारिने गर्दछन् तर वैज्ञानिक भन्छन् भ्यान्कुवर टापु पारीको यो किलर ह्वेल आमाले “नयाँ कीर्तिमान राखेको छ”।
बीबीसीबाट साभार
Comments are closed.