साउन ३०, दुईदिन देखिको अविरल बर्षाका कारण कालीगण्डकीले धार परिवर्तन गरेर कटान गर्दा म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ कोप्चेपानीस्थित धवलागिरी आधारभुत विद्यालयको कक्षा कोठा भवन बगाएको छ ।
बुधबार बिहान ६ कोठे कक्षा कोठा भवन बगाएको व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले बताए । कक्षा ३ सम्म पठनपाठन हुने विद्यालयमा २० जना विद्यार्थीहरु अध्ययनरत छन् ।
नदी कटानका कारण पर्यटकीय जिल्ला मुस्ताङ प्रवेश गर्ने पदमार्ग अवस्थित कोप्चेपानीको बस्ती जोखिममा परेको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताए । कोप्चेपानीमा २६ घरको बसोबास छ । कालीगण्डकी बस्तीको करिब ५० मिटर नजिकबाट बग्न थालेको छ ।
बर्षाका कारण कालीगण्डकीको बहाब उच्च बनेको छ । घटनास्थल पुगेपछि बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र विद्यार्थीलाई वैकल्पिक अध्ययनको व्यवस्था मिलाईने अध्यक्ष पुनले जानकारी दिए ।
Comments are closed.