Nepal's First Video FM

नुवाकोटमा पहिरोले १० घर बगायो, लाखौंको क्षति

1,154

भदौ ३, बाढीपहिरोले नुवाकोटका विभिन्न स्थानमा १० घर बगाएको छ । घर बगाउँदा लाखौँको क्षति भएको छ । जिल्लामा विभिन्न स्थानमा शुक्रबार राति आएको बाढीपहिरोले घर, पशुचौपाया तथा धनमाल बगाएको प्रहरीले जनाएको छ ।

सलाखु खोलामा आएको बाढीले किस्पाङ गाउँपालिका–३ कितिली बगरका ओमबहादुर तामाङको पक्की घर र घरभित्र रहेका २० मुरी धान, लत्ताकपडा, नगद ८५ हजार क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

सोही स्थानमा जितबहादुर तामाङ आठ रोपनी खेत, रुद्रबहादुर तामाङको तीन रोपनी, कृष्णबहादुर तामाङको तीन रोपनी, नुरबतासीबहादुर तामाङको तीन रोपनी खेतसमेत खोलाले बगाएर बगर बनाएको प्रहरीले जनाएको छ ।

यस्तै बेलकोटगढी नपा–११ अमारेमा अमारे खोलामा आएको बाढीले हरिभक्त तिवारीको दुई घर र घरमा रहेको किराना पसल, मासुपसलसमेत बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पसल सञ्चालक रामराजा तामाङ र श्रीमती शुभलक्ष्मी सामान्य घाइते भएको र बाढीको कारण ८ लाख बराबरको क्षति भएको छ । यसैगरी गएरातिकै पहिरोले शिवपुरी गाउँपालिका–६ थानाभञ्ज्याङका मनोज लामा र डिलबहादुर तामाङको घर पनि बगाएको छ ।

त्यस्तै तादी गाउँपालिका–६ आलडाँडाँका डोरबहादुर तामाङकोे दुई वटा र मुकेश तामाङको एउटा घर पहिरोले बगाएको छ । विदुर नपा–२ पाटीपानीका अर्जुन कसाइका घर पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ ।

यसैबिच, अविरल वर्षापछि नुवाकोटको गेर्खु खोलामा आएको बाढीले सडक कटान गरेपछि पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ । नुवाकोटको त्रिशूली–बेत्रवती खण्डको गेर्खु पुलमा खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको हो ।

आइतबार बिहान खोलामा आएको बाढीले विदुर नपा–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकोले यातायात ठप्प भएको प्रहरी कार्यालयले जनाएको छ ।

सडक नै कटान भएकोले निर्माणको लागि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेसी रसुवागढी सडक योजनाको ठेकेदारसँग सहकार्य गरी सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.