भदौ ४, अनुगमनमा अवरोध गरेको भन्दै कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी बिमल ढुंगानालाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।
विवाद बारे बुझन आपूर्ति मन्त्री मातृका यादव र प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको टोली कालीमाटी बजार गएको छ । बिहान कालीमाटीस्थित तरकारी बजार अनुगमनमा गएको आपूर्ति बिभागको टोलीलाई भित्र राखेर व्यापारीले अवरोध गरेका थिए ।
उक्त टोलीलाई छुटाउन त्यहाँ प्रहरी परिचालन गरिएको थियो । अनुगमनका लागि कालिमाटी फलफूल तथा तरकारी बजार पुगेको टोलीलाई व्यवसायी तथा विचौलियाको समूहले नियन्त्रणमा लिएका थिए ।
करिब एक दर्जनको संख्यामा रहेका अनुगमन टोलीलाई बजारमा रहेका चुल्ठे, मुन्द्रेको एक समूहले थुनेर राखेको बताइएको थियो । अनुगमन टोलीले सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं र गृह मन्त्रालयसँग अनुरोधसमेत गरेको थियो ।
बिहान करिब ३ बजे कालिमाटी फलफूल तथा तरकारी बजारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एक टोली अनुगमनका लागि पुगेको थियो । त्यहि क्रममा बिलबिजक, कसको र कहाँबाट ल्याइएको इत्यादी नखुलेपछि तरकारी बोकेका २ ट्रकसमेत नियन्त्रणमा लिएको थियो ।
दुई ट्रकमध्ये ना४च ६६३४ नम्बरको ट्रकका चालक सुदिप दराईलाई नियन्त्रणमा लिएपनि बा६च ९६४ नम्बरको ट्रकका चालक कर्मा तामाङ भने फरार भएका प्रहरीले जनाएको छ ।
Comments are closed.