भदौ ४, इन्डोनेसियाको राजधानी जाकर्तामा जारी १८ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुल टेनिस टोलीको सोमबार बिहान अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले बिदाई गरेका छन् ।
टोलीसँग भेट गर्दै अध्यक्षले टेबुलटेनिस खेलबाट एसियाडमा देशको नाम राख्न शुभकामना दिए । आफूलाई पनि टेबुलटेनिस खेल औधी मनपर्ने बताउँदै उनले भने, ‘राम्रो खेल प्रदर्शन गर्नुहोस्, मेरो तर्फबाट जीतको शुभकामना छ ।’
सो अवसरमा अध्यक्षले टेबुलटेनिस खेल सबै उमेर समूहका लागि उपयुक्त खेल भएको बताए । राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा टिम मेनेजर सुदिल शाहीले अध्यक्ष प्रचण्डसँगको भेट पश्चात खेलाडीमा थप उर्जा र हौसला बढेको बताए ।
अध्यक्ष प्रचण्ड आफू पनि राम्रो टेबुल टेनिस खेलाडी भएकाले सो प्रतियोगितामा सहभागी हुने खेलाडीलाई राम्रो खेल प्रदर्शन गर्न प्रोत्साहन गरेको मेनेजर शाहीले बताए ।
सो खेलमा अनिल घिमिरे र संजीव ढुंगेल प्रशिक्षमकद्वयका साथ खेलाडी नविना श्रेष्ठ, स्वेच्छा नेम्वाङ, रविना महर्जन, स्यान्टु श्रेष्ठ, अमरलाल मल्ल, दीप सावन सहभागी हुनेछन् ।
दुई दिन अगाडि सुरु भएको एसियाडमा नेपालसहित ४५ राष्ट्रले भाग लिइरहेका छन् भने उनीहरुले ४ सय ६५ खेलहरुमा भाग लिइरहेका छन् ।
Comments are closed.