माघ २८, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको आवश्यकता अनुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन सक्ने बताएका छन् ।
आइतबार यहाँ आयोजित प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिलेको सन्दर्भमा आफूले अघि सारेको यो भनाइको अर्को राजनीतिक अर्थ नलगाउन पनि आग्रह गरे ।
दुई पार्टी एकीकरणका सन्दर्भमा उनले भने, “म काठमाडौँ गएपछि कुराकानी हुन्छ । मेरो चाहना छ २/३ दिनभित्र टुंगियोस्, यो कुरा नलम्बियोस् ।” उनले अगाडि थपे, “पार्टी एकीकरण लम्बिएला जस्तो भन्दा पनि टुंगिएला जस्तो मैले देखिरहेको छु ।”
अध्यक्ष दाहालले शनिबार भरतपुरमा आयोजित एक कार्यक्रममा देशको हित नहुने भएमा आफूले फड्को हान्ने बताएका थिए । नेकपा (एमाल) र माओवादी केन्द्रबीच पार्टी एकताको बैठक चलिरहँदा अध्यक्ष दाहालको यस्तो प्रतिक्रिया बाहिर आएको छ ।
सो अवसरमा उनले आउँदा दिनमा खेल क्षेत्रको विकास अझ तीव्र हुने विश्वास व्यक्त गरे । उनले प्रादेशिक रुपमा यस्ता खेल हुनुले संघीयता कार्यान्वयनमा सहयोग पुग्ने पनि बताए ।
आफू पहिलो पटक प्रधानमन्त्री हुँदा खेलकुद विकासका लागि काम थाल्न मात्रै पाएको र दोस्रो पटक प्रधानमन्त्री हुँदा देशभर नै संस्थागत रुपमा खेलकुद क्षेत्रको विकासका लागि पहल शुरु गरेको पनि उनले स्मरण गराए ।
Comments are closed.