भदौ ५, एजेन्सी । यौनदुर्व्यवहार तथा लैङ्गिक विभेद विरुद्ध सञ्चालित #मीटू अभियानकी अग्रणी व्यक्तित्वमाथि नै यौनदुर्व्यवहारको आरोप लागेको बताइएको छ ।
गतवर्ष वरिष्ठ हलिवूड चलचित्र निर्माता हार्भी वाइन्स्टिनमाथि यौनदुर्व्यवहारको आरोप लगाउने अग्रपङ्क्तिमा इटालेली नायिका आजिया अर्जेन्टो पनि थिइन् ।
‘न्यू योर्क टाइम्स’का अनुसार केही कानुनी कागजपत्रमा नायिका अर्जेन्टोले आफ्ना एक पूर्वसहकर्मीलाई तीन लाख ८० हजार अमेरिकी डलर तिरेको देखिएको छ। बीबीसीले भने ती कागजपत्र हेरेको छैन ।
कलाकार जिम्मी बेनेटले क्यालिफोर्निया होटलको एउटा कोठामा आजिया अर्जेन्टोले आफूमाथि सन् २०१३ मा यौनदुर्व्यवहार गरेको आरोप लगाएका थिए ।
नायिका अर्जेन्टोका वकिलले आरोपबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।
घटना हुँदा जिम्मी बेनेट १७ वर्षका मात्रै थिए । क्यालिफोर्नियामा आपसी सहमतिमा यौनसम्बन्ध राख्न पाइने उमेर १८ वर्ष तोकिएको छ । त्यतिबेला अर्जेन्टोको उमेर ३७ वर्ष हाराहारी भएको बताइन्छ ।
न्यू योर्क टाइम्समा विविरणका अनुसार ती कानुनी कागजपत्रमा बेनेटले उक्त घटनापछि आफू आहत भएको र आफ्नो मानसिक स्वास्थ्य एवम् काममा समस्या उत्पन्न भएको उल्लेख गरेका छन् । उनले सन् २००४ मा निर्मित एउटा चलचित्रमा अर्जेन्टोको छोराको भूमिकामा अभिनय गरेका थिए ।
बिबिसीबाट साभार
Comments are closed.