‘वास्तविक हत्यारा’ पत्ता लगाउन नसेकेको भन्दै महेन्द्रनगर तनाव ग्रस्त, प्रहरीद्धारा अश्रुग्यास प्रहार
भदौ ५, बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ की निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन नसेकेको भन्दै महेन्द्रनगरमा तनाव भएको छ । यातायात पुर्ण रुपमा बन्द हुनुका साथै स्थानिय तथा अधिकारकर्मीहरुले नारा जुलुस लगाइरहेका छन् ।
स्थिति तनावग्रस्त भएपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका २ की निर्मला पन्तको हत्यामा संलग्न वास्तविक अपराधीलाई लुकाई मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको हो ।
पन्तको बलात्कार पछि हत्या गरिएको घटनालाई ढाकछोप गर्न मानसिक अवस्था ठिक नभएका दिलिप सिंह बिष्टलाई अपराधी बनाएर प्रहरीले सार्वजनिक गरेको भन्दै नागरीक समाज, अधिकारकर्मी, विद्यार्थीहरु र स्थानीयवासीले आज यातायात बन्द र महेन्द्रनगर बजार बन्द गर्नुका साथै प्रहरी प्रशासन बिरुद्ध नारावाजी गरेका छन् ।
मृतक पन्तका बुवा यज्ञराज पन्तले पक्राउ परेका अभियुक्तका नाममा किटानी जाहेरी दिन आफुलाई प्रहरीले दबाब दिएको तर आफ्नो परिवार समेत पक्राउ परेका बिष्ट नै अपराधी भएको नपत्याइरहेको बताएका छन् । उनले आफ्नी छोरीको हत्या गर्ने वास्तविक अपराधी पक्राउ गरी सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै नागरीक समाज कञ्चनपुर र अधिकारकर्मीहरूले प्रशासन अगाडी थालेको रिले अनशन समेत यथावत राखेको महिला अधिकारकर्मी शारदा चन्दको भनाइ छ । गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मलाको हत्या गरी फालिएको अवस्थामा पन्तको शव भेटिएको थियो ।
Comments are closed.