Nepal's First Video FM

आज बकर-इद उत्साहका साथ मनाइदै, प्रदेश नं.१, २ र ५ मा सार्वजनिक बिदा

701

भदौ ६, इस्लाम धर्मावलम्बीले प्रसिद्ध पर्व बकर–इद बुधबार उत्साहका साथ मनाइरहेका छन् । ३ दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ ।

इदको अवसरमा प्रदेश १, २ र ५ मा सार्वजनिक बिदा दिइएको छ । मुस्लिम समुदायका अगुवा तथा संस्थाका प्रमुखले बकर इदका अवसरमा सार्वजनिक बिदा दिनुपर्ने माग गरेपछि सार्वजनिक बिदा दिइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बकर–इद पर्वले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भनी सबैमा शुभकामना दिएकी छन् ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि तराईसम्म बसोबास गर्ने मुस्लिम समुदायप्रति शुभकामना दिँदै सबैको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन् ।

इद पर्वको अवसरमा परिवारका सम्पूर्ण सदस्य अनिवार्यरूपमा नयाँ वस्त्र धारण गर्ने गर्छन् । इदगाहमा नवाज पढेर एकापसमा शुभकामना आदान प्रदान गने चलन छ ।

बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी गर्ने गरिन्छ । सो अवसरमा जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरिब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ । रासस

You might also like

Comments are closed.