भदौ १३, इण्डोनेसियाको जाकार्तामा जारी १८औं एशियाली खेलकुद अन्तर्गत प्याराग्लाइडिङतर्फ नेपालले रजत पदक जितेको छ । प्याराग्लाइडिङको उत्कृष्ट प्रदर्शनले नेपाल यसपटक एशियाली खेलकुदमा पदकविहीन हुनु परेन ।
पदकको आशा गरिएका अन्य खेलहरुले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा प्याराग्लाइडिङले भने पुरुष टिम क्रसकन्ट्रीमा रजत पदक जित्न सफल भएको छ । बुधबार पाँचौं तथा अन्तिम चरणको खेल प्रतिकुल मौसमका कारण प्रभावित भएको थियो ।
यस स्पर्धाको स्वर्ण जापानले जित्यो । अंकको आधारमा नेपाल पछि परेको हो । नेपाल जापानभन्दा २७ अंकले पछि रहयो । पाँच चरणसम्मको खेल सकिँदा नेपालले ११ हजार ३६४ अंक हासिल गरेको छ भने जापानले ११ हजार ३९१ अंक हासिल गरेको छ ।
२५ किलोमिटरको टाक्स घटाएर साढे १२ किलोमिटरमा झारिएको थियो । जहाँ नेपालका सबै पाइलटहरुले टाक्स पूरा गरे भने नेपालभन्दा अगाडि रहेको जापानका तीन पाइलटले मात्र टाक्स पूरा गरे ।
प्याराग्लाइडिङको टिम क्रसकन्ट्रीमा पाँच खेलाडी हुन्छन् । प्रत्येकले १००० पूर्णांक रहेको २५ किलोमिटरको टाक्स पूरा गर्नुपर्छ । जसअनुसार चौथो चरणको खेलसम्म नेपाल दोस्रो स्थानमा आएको थियो ।
त्यसअघिका तीन चरणको टाक्स सकिँदा नेपाल चौथो स्थानमा थियो । तर, चौथो चरणमा तीन पाइलटले रेस पूरा गरेका कारण नेपालले बरियतामा फड्को मारेको हो ।
जारी एशियाली खेलकुदमा नेपालको यो पहिलो पदक हो भने एशियाली खेलकुदको इतिहासमै दोस्रो रजत पदक हो । यसअघि नेपाली तेक्वान्दो खेलाडी सरिता राजभण्डारीले १९९८ को बैंकक एशियाडमा रजत जितेकी थिइन् ।
नेपालले अहिलेसम्म एशियाली खेलकुदमा जितेको पदक संख्या २३ पुगेको छ । यसअघि नेपालले पदकको आशा गरिएका खेलाडीहरु कराते, तेक्वान्दो, बक्सिङ लगायतका खेलमा नेपालको प्रदर्शन सन्तोषजनक भएको थिएन ।
प्याराग्लाइडिङमा पुरुषतर्फ नेपालका पाँच खेलाडी छन् । टिमको नेतृत्व अनुभवी पाइलट बिमल अधिकारीले गरेका छन् भने युकेश गुरुङ, विजय गौम, सुशील गुरुङ र बिशाल थापा छन् । यसअघि नेपाली टोलीले एक्यूरेसी बिधामा भने पदक जित्न असफल भएको थियो ।
Comments are closed.