बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । बिहिबारदेखि होटल सोल्टीमा जारी सम्मेलन सम्पन्न भएपछि नेपालले अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गरेको छ।
१८ बुँदे घोषणापत्रमा बिम्स्टेकको सचिवालयको भूमिका बढाउने र सचिवालयलाई विभिन्न कार्यक्रम कार्यान्वयन गर्न सकिने उल्लेख छ । त्यस्तै बिमस्टेकको चार्टर निर्माण तथा कानुनी संरचना तयार गर्नका लागि स्थायी समिति पनि बनाउने भएको छ ।
सम्मेलनको समापन घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको उपस्थिति यसको प्रगति र क्षमताले देखिने बताए। उनले आफ्नो क्षमता अनुसार नेपालले सम्मेलन आयोजना गरेको उल्लेख गर्दै सरकार प्रमुख र राष्ट्रप्रमुखलाई ‘साइट सिइङ’ गराउन नसकेकोमा दुस्ख व्यक्त गरे।
बिमस्टेकको रिट्रिट गोकर्ण रिसोर्टमा गर्ने तय भए पनि सारिएको थियो। नेपालले सम्मेलनस्थल होटल सोल्टीमा नै रिट्रिट कार्यक्रम गरेको थियो। सम्मेलन घोषणाअघि बिमस्टेक राष्ट्रका परराष्ट्र मन्त्रीले बिम्स्टेक ग्रिड स्थापना सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका थिए।
बिमस्टेक राष्ट्रहरुबीच ऊर्जा आदानप्रदानका लागि ग्रिड स्थापना गर्ने सम्झौता भएको हो। बिमस्टेकमा नेपालसँगै भारत, बंगलादेश, भुटान, श्रीलङ्का, म्यानमार र थाइल्याण्ड सदस्य रहेका छन्।
Comments are closed.