भदौ १८ काठमाडौं । भदौ १ गतेबाट लागु भएको मुलुकी अपराध (संहिता) मा व्यव्सथा गरिएका चिकित्सकीय प्रावधान संशाेधनकाे माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुविरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचना जारी गरी सेवा ठप्प पारेर आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीलाई अत्यावश्यकीय सेवा ऐनको दफा ४ अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।
ऐनको दफा ४ मा कुनै हड्ताल गरेमा वा त्यसमा भाग लिएमा हड्तालमा सहभागी हुनेलाई ६ महिनासम्म कैद वा दुई सयसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था रहेको छ । सोही अनुसार डाक्टर तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको हो ।
चिकित्सकलाई विरोधका कार्यक्रम स्थगित गरी वार्तामा आउन समेत मन्त्रालयले आग्रह गरेको छ । उनीहरुका मागको विषयमा सकारात्मक पहल भईरहेको भन्दै सरकारले आन्दोलनका कार्यक्रम छाडेर काममा फर्कन आग्रह गरेको हो ।
नयाँ मुलुकी एेनमा उपचारका क्रममा डाक्टरकाे लापरवाहीले बिरामीको मृत्यु भएको खण्डमा डाक्टरहरुले नै क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरिएकाे छऽ जसकाे संशाेधनकाे माग गर्दै डाक्टर तथा स्वास्थ्यकर्मीलाई आन्दोलित छन् ।
६ हजार लाइसेन्स फिर्ता
भदौ १ देखि लागू भएको नयाँ मुलुकी ऐन संशोधन गर्न माग गर्दै ६ हजार भन्दा बढी चिकित्सकहरुले आफ्नो लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाएका छन् ।
आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेपछि चिकित्सकहरुले मेडिकल काउन्सिलको कार्यालयमा पुगेर नेपाल मेडिकल काउन्सिलको प्रमाण (लाइसेन्स) बुझाएको चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बताए ।
बिरामीको बिजोग
सरकार र डाक्टरहरुको आन्दोलनको चपेटामा भने बिरामी परेका छन् । देशभरका अस्पताल बन्द हुदा बिरामीले उपचार पाएका छैनन् । टाढा टाढाबाट उपचारका लागि अस्पतासम्म आएका बिरामीहरुकाे उपचार नपाएर बिजाेग भएकाे छ ।
सिन्धुलीकी संगीता रावत आइतबार दौडँदै कान्ति बाल अस्पतालमा पुगिन् । चिकित्सकले पेटको एक्सरे रिपोर्ट हेर्नुपर्ने बताएपछि छोरा च्यापेर उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल गइन् । आकस्मिकबाहेक सेवाहरू ठप्प थियो । संगीतालाई छोराको ज्यान बचाउने चिन्ता छ ।
संगीताझैं चिन्तित देखिन्थे, धादिङका दीपक गुरुङ । शिक्षण अस्पतालले छोरी दीपिकालाई मुटुको जाँच गराउन गंगालाल हृदयरोग केन्द्र पठाएपछि उनी तनावमा परे । गंगालाल अस्पतालको टिकट काउन्टर बन्द थियो । आपतकालीन कक्षमा पुगेका उनलाई चिकित्सकहरूले इको गर्न सेवा बन्द भएको जनाउँदै फर्काए ।
झन् अन्दोलन चर्काउने तयारी
आइतबार देशभरका अस्पतालका ओपिडी सेवा ठप्प पारेका चिकित्सकहरुले सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक कामहरु बन्द गर्ने, १९ गते मंगलबारदेखि आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना गर्ने कार्य बन्द गर्ने, २० गते बुधबरदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरु बन्द गर्ने आन्दोलनका कार्यक्रम चिकित्स संघले अघि सारेका छन् ।
त्यस्तै, भाद्र २१ गते बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवाहरु बन्द गर्ने, २२ गते शुक्रबारदेखि आकस्मिक बाहेकका ओपिडी लगायत सम्पूर्ण स्वास्थ्य सेवाहरु संघका मागहरु सम्बोधन नभएसम्म बन्द गर्ने घोषणा गरेको छ । news24 बाट
Comments are closed.